पत्रकार महासंघ काभ्रेको स्थापना दिवस एवं साधारण सभा सम्पन्न

नौलो समाचार संवाददाता
२०७७ पौष ३, शुक्रबार मा प्रकाशित ७१५ पटक पढिएको
पत्रकार महासंघ काभ्रेको स्थापना दिवस एवं साधारण सभा सम्पन्न

पुष ३, काभ्रे। नेपाल पत्रकार महासंघ काभ्रे शाखाको २८ औं स्थापना दिवस तथा वार्षिक साधारण सभा विविध कार्यक्रम सहित सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले भौतिक पुर्वाधार निर्माण, पत्रकारको क्षमता अभिवृद्धि, दुर्घटना बिमा र कोरोना बिमा लगायतका काममा महत्वपुर्ण सफलता हासिल गरेको बताए । यस्तै केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले काभ्रे शाखाले गरिरहेका कामबाट अन्य जिल्ला, प्रदेश तथा केन्द्रले समेत सिक्नुपर्ने धेरै कुरा रहेको भन्दै प्रशंसा गरेका छन् । काभ्रे शाखाले गरेका महत्वपुर्ण क्रियाकलापका आधारमा नै उत्कृष्ट शाखाको रुपमा केन्द्रले सम्मान गरेको बताए ।

स्थापना दिवसको अवसर पारेर कार्यक्रममा स्वर्गिय पत्रकार भरतराज श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार प्रदिप केसीलाई नगद पाँच हजार ५५५ रुपियाँसहित सम्मान गरिएको थियो । सोहि अवसरमा पत्रकार केसीले आफ्नो स्वर्गिय पिता लिलाबहादुर केसीको नाममा एक लाख रुपियाँको पुरस्कार कोष खडा गरेका छन् भने पुरस्कार वापत प्राप्त भएका रकम समेत सोही कोषमा राखेका छन् । यसैगरी कोरोनाका कारण निधन भएका काभ्रेका अग्रज पत्रकार स्वर्गीय बिष्णुप्रसाद चौलागाँईको स्मृतिमा उहाँका भाई दिपक र छोरा समिरले एक लाखको पुरस्कार कोष स्थापना गरेका छन् ।

यस्तै पत्रकारहरुको नियमित उपचारका लागि छुट सहित बनेपा हेल्थ केयरसँग सम्झौता भएको छ भने १ सय ३५ जना पत्रकारहरुको कोरोना विमा समेत महासंघले गरिदिएको छ । कोरोनाका कारण विभिन्न समस्यासँग जुधिरहेका पत्रकारलाई महासंघले राहत उपलब्ध गराएको छ । आज नै भएको साधारणसभामा सचिवको प्रगति प्रतिवेदन नगेन्द्र अधिकारी, कोषाध्यक्षको प्रतिवेदन कपिल कोइरालाले पेश गरेका थिए । प्रतिवेदन सर्वसम्मतीले पारित भएको छ ।

नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले पत्रकार चौलागाँई पत्रकारिता कोषमा महासंङ्घको तर्फबाट परिवारले राखेको रकम बराबरको रकम र पत्रकार केसीले स्थापना गरेका पुरस्कार कोषमा ५० हजार रुपियाँ थप गर्ने प्रतिवद्धता जनाएका छन् । उनले महासङ्घ केन्द्रीय समितिले स्थापना गरेको पत्रकार विपद् कोषमा शाखाको तर्फबाट एक लाख रुपियाँ थप गर्ने प्रतिवद्धता जनाएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय पदाधिकारी तथा सदस्यहरु, प्रदेशका पदाधिकारी तथा सदस्य, पुर्व जिल्ला अध्यक्ष, प्रदेश अन्तर्गतका जिल्ला शाखाका अध्यक्ष प्रेश संगठन, प्रेस युनियनका केन्द्रिय, प्रदेश तथा जिल्लाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस