धुलिखेल अस्पतालमा २९३ जनाले लगाए कोरोना बिरुद्धको खोप

नौलो समाचार संवाददाता
२०७७ माघ १४, बुधबार मा प्रकाशित ६११ पटक पढिएको
धुलिखेल अस्पतालमा २९३ जनाले लगाए कोरोना बिरुद्धको खोप

माघ १४, काभ्रे। आज (बुधबार)बाट देशब्यापी रुपमा कोरोना भाइरस बिरुद्धको खोप अभियानको थालनी भएको छ । कोरोना बिरुद्धको खोप अन्तर्गत आजै काभ्रेको धुलिखेल अस्पतालमा २९३ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, सरसफाईकर्मी, जोखिममा रहेका सामाजिक अभियान्तालाई कोरोना विरुद्धको खोप लगाउने निर्णय गरेसँगै काभ्रेमा पनि खोप दिइएको हो ।

स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख नरेन्द्रकुमार झाको अनुसार खोप दिनका लागि जिल्लाको २ अस्पताल तोकिएको छ । ‘धुलिखेल अस्पताल र भकुण्डेमा रहेको मेथिनकोट अस्पतालबाट कोरोना बिरुद्को खोप दिनेछ ।’

जिल्लाका फ्रन्टलाइनमा काम गर्ने ३ हजार ५ सय ८१ जनालाई कोरोना भाइरस विरुद्धको खोप बुधबार बाट दिन सुरु गरिएको हो ।

नेपालले बुधबारबाट सुरू गरेको खोप अभियान भारतले अनुदानमा दिएको दश लाख डोजबाट हो। एक जनाले दुई पटक लगाउनु पर्ने हुनाले यो खोप पाँच लाखभन्दा कम नेपालीलाई मात्र पुग्छ। लगाउने क्रममा झन्डै १० प्रतिशत खोप खेर जान सक्ने भएकाले चार लाख जनामा खोप लगाउने स्वास्थ्य मन्त्रालयको योजना छ।

भारतले दिएको अनुदानको खोप सकिएपछि अर्को खोप नेपालमा कहिले र कहाँबाट आउँछ, अझै एकिन छैन। विश्व स्वास्थ्य संगठनलगायत अन्तराष्ट्रिय संस्थाहरुले मिलेर गरिब मुलुकहरूलाई अनुदानमा दिने खोप पनि नेपालले केही संख्यामा पाउने छ। तर त्यो खोप कति र कहिलेसम्म आउँछ भन्ने एकिन छैन। नेपालले अहिलेसम्म खोप किन्नका लागि कुनै कम्पनीसँग सहमति गरिसकेको छैन। प्रस्तावसम्म पठाएको छैन।

काभ्रेमा नयाँ संक्रमित शुन्य 

काभ्रेमा आज पनि नयाँ संक्रमितको संख्या शुन्य रहेको छ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर नरेन्द्र कुमार झाका अनुसार आज जिल्लमा नयाँ संक्रमितको संख्या शुन्य रहेको छ भने थप २ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।


प्रतिक्रिया दिनुहोस