पनौतीको ७ नम्बर वडा कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ १५, शनिबार मा प्रकाशित ७४१ पटक पढिएको
पनौतीको ७ नम्बर वडा कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग

जेठ १५, काभ्रे। काभ्रेको पनौती नगरपालिका वडा नम्बर ७ लाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ। समाजसेवी किरण शर्माले उपलब्ध गराउनुभएको स्वास्थ्य सामग्री आज (शनिबार) वडा कार्यालयलाई हस्तान्तरण गरिएको हो।

काभ्रे सेवा समाजका सदस्य एवं समाजसेवी मणिराज श्रेष्ठको समन्वयमा समाजसेवी किरण शर्माले उपलब्ध गराउनुभएको हो। जसमा पिपिई ६ थान, अक्सिमिटर ५ थानसंगै स्यानिटाईजर, ग्लोब्स, मास्क, फेसशिल्ड र डिस्इन्फेक्सन स्प्रे लगायत ७० हजार बराबरको सामग्री रहेको छ।

कोरोना भाइरस (कोभिड-१९)को दोस्रो लहरको प्रभावका कारण संक्रमण, रोकथाम र नियन्त्रणको क्षेत्रमा खटिरहेको वडा कार्यालय प्रत्यक्ष रुपमा नागरिकसंग जोडिएको कारण सञ्चालन गरिएको अभियानमा साथ दिने उद्धेश्यले स्वास्थ्इ सामग्री उपलब्ध गराएको मणिराज श्रेष्ठले बताउनुभयो।

सामग्री बुझ्दै वडा नम्बर ७ का वडा अध्यक्ष रामचन्द्र नास्नानीले महामारिको वेलामा सहयोग गर्ने दाताप्रति आभार प्रकट गर्दै प्राप्त सामग्रीले कोरोना संक्रमण, रोकथाम र नियन्त्रणको अभियानमा थप सहयोग पुगेको बताउनुभयो। प्राप्त सामग्री आवश्यक्ताको आधारमा वितरण गर्ने उहाँले बताउनुभयो ।

सो वडामा अहिलेसम्ममा १५१ जना संक्रमित भएकोमा ११७ जना निको भएर घर फर्किसकेको, ३३ जना अहिले उपचाररत रहेको र एक जनाको उपचारको क्रममा मृत्यू भईसकेको वडा सदस्य पुरुषोत्तम कर्माचार्यले बताउनुभयो।

उपचाररत संक्रमितहरुलाई घरको आईसोलेसनमा नै आईतवारबाट स्वास्थ्य सामग्री वितरण गर्ने तयारी गरिरहेको वडा सदस्य कर्माचार्यले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस