केही फरक फ्लेबर दिएर गएको छ
आजको बिहानले मेरो आँखालाई ,
घाम पनि सुकिलो परिधानमा छ ।
क्यालेण्डरको नयाँ अङ्क
नयाँ महीनाको भर्याङ उक्लनलाई
तयारीमा लागेको आभास छ
कारण जान्नलाई मनको सङ्घारमा
उत्सुकता उभिएको छ
झ्याल खोल्छु र हेर्छु –
पाहुना आउने सङ्केतमा काग कराउँदैछ ,
टाढ़ासम्म दृष्टि दगुराउँछु म
हातभरि भरि कोसेली बोकेर
आउँदैछ दशैं ।
एउटा थैलोबाट अधूरो बोनसको
असन्तुष्टिले चिहाउँदैछ ,
भरिएर पोखिन् पोखिन् लागेको
एउटा झोला छ –
भुक्तान भएका बिलहरू खुशीमा छन्
बहन नसकेका आँसुहरू छन्
थोरै खुशी , अपरिमित दुखाईहरू छन् ।
मिठाईका प्याकेटसित अतीतका यादहरू छन् –
कम्ती खर्चले मनभरि भरि खुशी किनिएको
सन्तुष्टिका गुलियोहरू अवश्यै परेका छन्
त्यो प्याकेटमा
कुनै झोलामा होलान् फेरि
लिङ्गेपिङमा मच्चिएको दिनहरू ,
खल्तीमा चानचुन छन्काउँदै
एनिमोरमा झुत्तिएका रमाइलोहरू ।
यो पाली दशैंको काँधै गल्ने झोलातुम्बीमा
खुशीका सौगतहरू बोकेर ल्यावोस् ।
आँखाको पोखरीमा हर्षहरू छल्काएर ल्यावोस् ।
म त अतीतका यादहरूले सञ्चो ल्याएकोले
ढुक्क छु ।
हिजो दशैंको आँगनमा
खुशीको सयपत्रीहरू फुलको हुन्थ्यो ,
रहरका गमलाहरूमा रमाइलो अतीतको ती फूल
अझै ओइलाएका छैनन्
तर मुटुमा राखेको ढुङ्गालाई भुलेजस्तै गरेर
मनाउनु पर्ने भो दशैं
त्यही फूलहरूसंग साट्नुपर्ने भो
यो गह्रौं समय !
दशैं ढोकाछेउ आइपुग्न आँटेको छ
मेरो भागमा परेको अतीतको मिठासहरूलाई
थाप्नु पर्यो कि तीतो पलाएको मनको थालमा ?
तपाईंको चाहिँ के विचार छ ?
प्रतिक्रिया दिनुहोस