असोज २४, काभ्रे। प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि नेपाली कांग्रेसले काभ्रेको लागि टिकट टुंग्याएको छ।
कांग्रेसको भागमा परेको प्रतिनिधी सभा क्षेत्र नं २ मा पूर्व सांसद समेत रहेका कांग्रेस पूर्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, प्रदेश सभा १ (ख) मा संविधान सभा सदस्य समेत रहेका कांग्रेस जिल्ला सभापति तिर्थबहादुर लामा र प्रदेश सभा २ (ख) मा पूर्व उद्योगराज्यमन्त्री समेत रहेका संविधान सभा सदस्य एवं कांग्रेस वाग्मती प्रदेश महामन्त्री कञ्चनचन्द्र बादेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। कांग्रेसका तर्फबाट उम्मेदवार तय भएका ३ नै जना पूर्व सांसद र अनुभवी राजनीतिज्ञ हुन्।
गठबन्धनमा माओवादीको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १ मा पूर्व उर्जाराज्यमन्त्री सुर्यमान दोङ, प्रदेश सभा १ (क) मा वाग्मती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकाल, २ (क) मा प्रदेश सभा सदस्य लक्ष्मण लम्साल उम्मेदवार तय भएका छन्।
शिवप्रसाद हुमागाई
२०३६ सालमा विधार्थी आन्दोलनमा सहभागी भएर राजनीति शुरु गरेका शिवप्रसाद हुमागाईले २०३६ सालमा नै कांग्रेसको सदस्यता लिएका थिए । शिक्षण पेशा समेत अंगालेका हुमागाईले बहुदलको पक्षमा जनमत संग्रहको प्रचार प्रसारको डाँडापारी क्षेत्रमा नेतृत्व गरेका थिए। २०३६/२०३९ सालमा नेविसंघ र शिक्षक संघको जिल्ला कार्यसमिति सदस्य भएका उनी २०३८ सालमा नेविसंघको केन्द्रीय महाधिवेशन प्रतिनिधी भइसकेका थिए। २०३९ देखि २०४१ सम्म नेविसंघ काभ्रेको सचिव भएर काम गरेका उनले २०४२ देखि २०४६ सम्म नेविसंघ जिल्ला सभापतिको रुपमा नेतृत्व गरे। २०४८ देखि २०५१ सम्म क्षेत्र नं ३ को सभापति र जिल्ला सचिवको एकैसाथ जिम्मेवारी भुमिका निर्वाह गरेका उनी २०५२ साल फाल्गुन ३० गते पहिलो पटक कांग्रेस जिल्ला सभापति निर्वाचित भएका थिए। २०५३ वैशाख १५ गते पुनः भएको अधिवेशनमा पनि उनी सभापति निर्वाचित भएका थिए।
२०५६ सालमा प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका उनले काभ्रे क्षेत्र नं २ बाट २५ हजार ३ सय ९० मत प्राप्त गरेका थिए । २०६२/२०६३ सालको जनआन्दोलनको बलमा पुर्नस्थापित संसदमा उनी सदस्य थिए । २०६४ र २०७० सालमा भएको संविधान सभा निर्वाचनमा प्रत्यासी रहेका उनले २०७४ सालमा भएको प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनमा जिल्लाको चुनावी कमाण्ड सम्हालेका थिए।
२०५८ देखि २०६१ सालसम्म पार्टीको केन्द्रीय संगठन विभागको सदस्य सचिव भएर पनि काम गरिसकेका उनी पाँचौ जिल्ला अधिवेशनबाट पुन सभापतिमा निर्वाचित भएका थिए । २०६७ साल साउन १७ गते सम्पन्न छैठौ जिल्ला अधिवेशनमा पनि उनी सभापति निर्वाचित भएका थिए । १३ औं महाधिवेशनपछि पार्टी सभापति शेरबहादुर देउवाले उनलाई केन्द्रीय सदस्य मनोनित गरेका थिए । श्रमिक तथा टे«ड युनियन विभागको संयोजकको रुपमा उनले भुमिका निर्वाह गरेका थिए।
२०४२ सालको सत्याग्रहमा नख्खु जेलमा बसेका उनले पटक–पटक जेल जीवन विताएका छन् । २०६२÷६३ सालको जनआन्दोलनमा उनकै नेतृत्वमा बागबजारमा कफ्र्यु तोडिएको थियो ।
तिर्थबहादुर लामा
२०६४ सालबाट नेपाली कांग्रेसको राजनीति शुरु गरेका लामा सोही बर्ष क्षेत्रीय उपसभापति मनोनित भएका थिए । पार्टीको १२ औं र १३ औँ महाधिवेशनमा क्षेत्रीय सभापति निर्वाचित लामा संघीयतापछि जिल्ला २ निर्वाचन क्षेत्रमा विभाजन भएपछि प्रतिनिधी सभा क्षेत्र नं १ को सभापति भएका थिए। पार्टीको १४ औं महाधिवेशनमा उनी जिल्ला सभापतिमा निर्वाचित भएका छन्।
कम्युनिष्ट गढ मानिने क्षेत्रमा निर्वाचित हुने उनी कांग्रेसको पहिलो उम्मेदवार हुन्। २०७० सालको संविधानसभा निर्वाचनमा उनी काभ्रे क्षेत्र नं १ मा कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए। २०६४ सालको निर्वाचनमा कांग्रेसले ७ हजार मत ल्याएको उक्त क्षेत्रमा ७० सालमा उनी १२ हजार भन्दा बढी मत ल्याएर विजयी भएका थिए। तत्कालिन माओवादी केन्द्र र एमाले मिलेर भएको बाम गठबन्धनका कारण २०७४ सालको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा भने उनी ४ हजार २६ मत अन्तरले मात्रै पराजित भएका थिए। बाम गठबन्धनका गंगाबहादुर दोङले ४३ हजार ६ सय ३१ र कांग्रेसका तिर्थबहादुर लामाले ३९ हजार ६ सय ५ मत प्राप्त गरेका थिए।
प्रतिनिधीसभा क्षेत्र नं १ कम्युनिष्ट गढ मानिन्थ्यो । २०४८ यताका निर्वाचनमा सो क्षेत्रबाट कम्युनिष्ट उम्मेदवार जित्दै आएका थिए । २०४८ सालमा जनमोर्चाका कमानसिं लामा र २०५१ र २०५६ मा एमालेका शिवबहादुर देउजाले विजयी हासिल गरेका थिए । ४ निर्वाचन क्षेत्र कायम भएपछि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा क्षेत्र नं १ र २ मा नेकपा माओवादीका सुर्यमान दोङ र अक्कल बहादु थिङ विजयी भएका थिए। २०७० सालको संविधासभा निर्वाचनमा मात्रै नेपाली कांग्रेसका तिर्थ लामाले गढ तोडेका थिए। क्षेत्र नं २ मा एमालेका रामहरी सुवेदी विजयी भएका थिए।
कञ्चनचन्द्र बादे
कांग्रेसका राजनीतिज्ञ राजदास बादेका भतिजा, बाबु गोपालदास बादे र आमा चिनिमाया बादेका कान्छा छोरा कञ्चनचन्द्र बादे २०३६ को जनतसंग्रहकै ताका राजनीतिमा सकृय भइसकेका थिए। २०२४ साल बैशाख ८ गते जन्मिएका बादे १५ बर्षको उमेरमा नेपाल विद्यार्थी संघको जिल्ला सदस्य भएका हुन्। २०४४ सालमा नेपाल विद्यार्थी संघको कोषाध्यक्ष बनेका बादेले २०४७ सालमा नेविसंघको जिल्ला सभापति बनेर नेविसंघ काभ्रेलाई नेतृत्व प्रदान गरेका थिए। नेविसंघसँगै बनेपाको राजनीतिमा होमिएका उनी २०५१ र २०५८ मा गरी २ पटक नेपाली कांग्रेस बनेपाको नगर सभापति बनेका थिए। २०५८ सालमा नेपाल तरुणको जिल्ला अध्यक्ष बनेका बादे २०६० सालमा तरुण दलको केन्द्रीय सदस्य भए । नेपाल ट्रेड युनियन कांग्रेस काभ्रेका संस्थापक अध्यक्ष रहेका बादे २०६४ सालमा नेपाली कांग्रेस काभ्रेको कोषाध्यक्ष भएका थिए। २०५७ मा भएको पार्टीको १० औँ र २०६१ मा भएको ११ औँ महाधिवेशनमा उनी महासमिति सदस्य समेत भएका थिए । पार्टीको १२ औँ र १३ औँ महाधिवेशनमा काभ्रे क्षेत्र नं ३ को सभापति भएका बादे १४ आंै महाधिवेनशनबाट वाग्मती प्रदेश महामन्त्रीमा निर्वाचित भएका छन् । २०३६ सालपछिका सबै जनआन्दोलनमा सहभागी भएका उनले ०६२÷०६३ को जनआन्दोलन घाइते उपचार कोषको संयोजक भएर पनि काम गरेका थिए।
बादेलाई स्थानीय निकायको पनि अनुभव छ। २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा कांग्रेसको तर्फबाट उपमेयरको उम्मेदवार बनेर विजयी भएका थिए । निरन्तर कृयाशिल बादेले २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालिन नेकपा एमाले काभ्रेका अध्यक्ष गोकुल बास्कोटालाई पराजित गरेर संविधानसभा सदस्य निर्वाचित भएका थिए।
राजनीतिमा कृयाशिल बादे सामाजिक संस्थामा पनि उत्तिकै सकृय छन्। उनी काभ्रे जेसीजको सन् २००७ मा अध्यक्ष बनेका थिए। सन् २००६ मा रोटरी क्लब अफ काभ्रे बनेपाको अध्यक्ष बनेर नेतृत्व प्रदान गरिसकेका छन्। नेपाल बाल संगठन काभ्रेको सदस्य रहिसकेका बादे नेपाल परिवार नियोजन संघ लगायतका सामाजिक संघसंस्थामा पनि उत्तिकै कृयाशिल छन्। बनेपा, पनौती र धुलिखेललाई खानेपानी खुवाउने उद्धेश्यले सञ्चालन भएको काभ्रे उपत्यका खानेपानी आयोजना स्टेरिङ कमिटीको सदस्य भएर पनि काम गरेका थिए। व्यवसायिक रुपमा यातायात क्षेत्रमा लगानी गरेका बादे अरनिको यातायात सेवा समितिका पुर्व कोषाध्यक्ष समेत हुन्।
प्रतिक्रिया दिनुहोस