आजबाट बनेपामा २५ सय वर्ष पुरानो चण्डेश्वरी जात्रा सुरु, यस्तो छ प्राचिन किम्बदन्ती

नौलो समाचार संवाददाता
२०८० बैशाख २१, बिहिबार मा प्रकाशित १३९० पटक पढिएको
आजबाट बनेपामा २५ सय वर्ष पुरानो चण्डेश्वरी जात्रा सुरु, यस्तो छ प्राचिन किम्बदन्ती

बैशाख २१, काभ्रे। काभ्रेमा आजबाट २५ सय वर्ष अगाडिदेखि बनेपाका नेवार समुदायले मनाउँदै आएको चण्डेश्वरी जात्रा आजबाट सुरु भएको छ।

चण्डेश्वरी जात्रा हरेक वर्ष चण्डी पूर्णिमाको दिनदेखि तीन दिनसम्म जात्रा मनाउने गरिन्छ।

जात्राको पहिलो दिन विहान सबेरै मत पूजा (चिराग यात्रा) गरिन्छ । दोस्रो दिन बिहानसम्ममा सोही स्थानमा रहेको देवी सहितको खटलाई विधिपूर्वक पूजाआजा सकेर पुनः खटलाई बनेपाको वकुटोलतर्फ ल्याउने गरिन्छ । खटलाई प्राचीन लायकू दरबारसम्म पुर्‍याइन्छ र त्यहाँबाट चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुनः वकुटोलमै ल्याउने गरिन्छ। मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पुर्‍याएपछि जात्रा सकिने गर्छ ।

धिमे, नाय्खिं, छुस्यालगायत विभिन्न बाजागाजासहित आस्था भएका सबैले आ-आफ्नो घरबाट चिराग बोक्दै बनेपाको लायकुमा जम्मा भइ जलेश्वर महादेव (जसिगा)सम्म पुगेर विसर्जन गर्ने प्रचलन रहेको छ । जात्राको क्रममा चण्डेश्वरी मन्दिरभित्र रहेका पिगं देवताहरुलाई १२ वटा बोका बलि दिने र ती मध्ये एउटा बोका द्वारे र अर्को बोका जोशीलाई दिइने चलन छ भने बाँकी बोकाको मासु कलंदान गरिन्छ ।

पूर्णिमाकै दिन बनेपाको तीनधारामा बनाइएको पांग्रा नभएको खटलाई भेडा बलि दिइएपछि देवता नभएको खाली खटलाई बिभिन्न बाजागाजासहित युवाहरुले बोकेर ल्हाका पालुं हाः भन्दै चण्डेश्वरी पुर्‍याउने प्रचलन छ । खटलाई मन्दिर नजिक पुर्‍याएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखिन्छ । कलंदान जात्रामा मासुलाई प्रसाद स्वरुप भीडमा फालिन्छ । चण्डेश्वरी जात्रामा बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजवाहक लगायतका सबै नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने भएकोले यो जात्रालाई विशेष महत्वकासाथ लिइने गरिएको छ ।

सबै समुदायसँग प्रत्यक्ष जोडिएको हुनाले यो जात्रालाई वनेपाका बासिन्दाले दशैं तिहारभन्दा ठूलो पर्वको रुपमा लिने गरेका छन् । किंवदन्ती अनुसार २५ सय वर्ष अगाडि आराध्यदेवी चण्डेवरी माइको जात्रा धार्मिक कथन अनुसार दैत्यराज चण्डासुरले लामो समयसम्म तपस्या गरेपछि कुनै पनि पुरुषले आफूलाई मार्न नसक्ने वरदान पाए । त्यसपछि पाताल, मच्छेमण्डल र स्वर्गमा चण्डासुरले हाहाकार मच्चाउन थालेपछि उनीहरु भागेर बनेपाको चण्डेश्वरीमा अवस्थित रक्तचन्दन वनमा पुगे ।

स्वर्गका राजालाई समेत चण्डासुरले जितेपछि देवताहरुको भागाभाग भयो । देवताहरु ज्यान जोगाउनका लागि पन्छीको रुप धारण गरी वनबाट अलप भए । चण्डासुरका अनुयायीले रक्तचन्दन वनमा कोही नभएको र एउटी राम्री युवती चम्पक वृक्षभित्र बसेको बताएपछि चण्डासुरले वृक्षमा प्रहार गरे । त्यहाँबाट कुमारी चण्डेश्वरी प्रकट भइन, चण्डासुरलाई मार्न प्रयास गरिन् तर सकिनन् । त्यसपछि उनी भगवतीको रुपमा प्रकट भएर चण्डासुरको बध गरेर देवताको रक्षा गरेको खुसीयालीमा जात्रा मनाइँदै आएको जनविश्वास रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस