केयूका दीक्षितलाई प्रधानमन्त्री दाहालको अनुरोध :माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर स्वदेश फर्केर सेवा गर्नुस्

नौलो समाचार संवाददाता
२०८० मंसिर २७, बुधबार मा प्रकाशित १२७ पटक पढिएको
केयूका दीक्षितलाई प्रधानमन्त्री दाहालको अनुरोध :माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर स्वदेश फर्केर सेवा गर्नुस्

काभ्रे / प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं विश्वविद्यालय वा नेपालका अन्य विश्वविद्यालयबाट अध्ययन गरेर थप अध्ययन र अनुभवका लागि विदेश गएका विद्वत्वर्ग एवम् युवालाई पनि आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप नेपालको दिगो विकासका लागि सदुपयोग गर्न अनुरोध गर्नु भएको छ ।

काठमाडौ विश्वविद्यालयको २९ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले स्वदेशमा आर्जन गरेको ज्ञान र सीपलाई देशको र मानव जातिको हितका लागि अर्पण गर्न अनुरोध गरे । ‘नेपालमा अवसर छैन भन्ने जुन भाष्य निर्माण भएको छ, त्यसको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खाइरहेका छन्,’ प्रधानमन्त्री दाहालले भने, ‘म उनीहरूलाई यही मञ्चबाट आश्वस्त पार्न चाहन्छु कि अहिले नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर छन् र तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देशहितको पनि काम गर्न सकिन्छ ।’

अहिले विभिन्न बाध्यताका कारण २०० भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको खबर चिन्ताजनक भन्दै उनले सरकार तिनलाई सकुशल फिर्ता ल्याउन हरसम्भव प्रयास गरिरहेको बताए ।

केयुले आयोजना गरेको सम्मेलनबाट आएका नीतिगत र व्यावहारिक सुधारका कुरालाई राष्ट्रिय शिक्षा नीतिमा समायोजन गर्न हरसम्भव प्रयास गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रमका प्रमुख अतिथी रहेका दिव्य शताब्दी पुरुष, वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरिशंकर लाल दासले समाजमा भ्रष्टाचार र कुरिती बढ्यो भनेर चिन्तित भइरहेको भन्दै उनले दिक्षित युवाहरु भ्रष्टाचार र विचलनका विरुद्ध र भ्रष्टाचार निर्मुल गर्न कर्मशिल हुने विश्वास व्यक्त गरे । दीक्षितहरु आफ्ना समकालीन र आफूभन्दा पछि उच्च शिक्षाको अवसरको खोजीमा रहेका युवाहरुकओ लागि अनुसरणिय बन्न अनुरोध गरे ।

काठमाडौ विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले नेपाली विद्यार्थीहरु उच्च शिक्षा अध्ययनको लागि विदेश पलायन हुनाले विगतका केही बर्ष देखि नेपालका विश्वविद्यालयमा विद्यार्थी भर्नादरमा ह्रास आउनु आफैमा गम्भीर विषय हो भन्दै उनले वहिर्गमग भएका स्नातकहरुमध्येको ठुलो संख्या स्थायी रुपमा विदेशमा बसोबास गरिदिनाले सिङ्गो रास्ट्रले अहिले बौद्धिक र मानव संसाधन अभावको सामना गर्नु परिरहेको तर्क गरे ।

प्रतिक्रिया दिनुहोस