दुर्घटना न्युनिकरण गर्न ‘चालकसंग ५ मिनेट’

‘८० देखि ९० प्रतिशत दुर्घटना चालकको लापरबाहीले’
नौलो समाचार संवाददाता
२०८० माघ १०, बुधबार मा प्रकाशित ३७९ पटक पढिएको
दुर्घटना न्युनिकरण गर्न ‘चालकसंग ५ मिनेट’

काभ्रेभञ्ज्याङ \ सवारी दुर्घटना न्युनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले चालकसंग ५ मिनेट कार्यक्रम सञ्चालन गरेको छ ।

सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या बर्षेनी बढेपछि प्रहरीले स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकसंगको सहकार्यमा साना तथा ठूला सवारीका चालकलाई दुर्घटना न्यूनिकरणका लागि गर्नुपर्ने सावधानीका साथै दुर्घटना भइहाले गर्ने प्राथमिकता उपचार लगायतका कामबारे जानकारी गराएको हो ।

बुधबार वी.पी राजमार्ग अन्तर्गत काभ्रेभञ्ज्याङमा जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक जनार्दन घिमिरे र स्वास्थ्य कार्यालय काभ्रेका जनस्वास्थ्य अधिकृत सृजना अधिकारीले चालकहरुलाई न्युनिकरणका उपाय र प्राथमिक उपचारका बारेमा जानकारी गराएका थिए ।

प्रहरी निरिक्षक घिमिरेका अनुसार, प्रहरी तथ्याकंमा दुर्घटनामा पर्ने सवारीसाधन मध्ये ५१ प्रतिशत साना सवारी छन् । दुर्घटनामा २२ सय देखि २५ सय जनाको मृत्यु हुने गरेको छ भने ५ देखि ७ हजार जना बर्षेनी गम्भीर घाइते हुने गरेका छन् । तिव्र गति, बढी आत्मविश्वास र अस्वभाविक रुपमा उछिन्न खोज्नाले र चालक अनिदो हुँदा दुर्घटना हुने गरेको घिमिरेले जानकारी दिए ।

जनस्वास्थ्य अधिकृत अधिकारीका अनुसार, नेपाल जनसंख्यायिक स्वाथ्य सर्वेक्षणले दुर्घटना मध्ये ६८ प्रतिशत मोटरसाइकल दुर्घटनामा पर्ने देखाएको छ । त्यसको ७५ प्रतिशत बाग्मतीमा दुर्घटनामा पर्ने गरेका छन् ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने सडक दुर्घटना रोकथाम तथा न्यूनिकरण जिल्ला स्तरीय समितिले न्युनिकरणको लागि चालकको स्वास्थ्य परिक्षण, विद्यार्थीहरुलाई ट्राफिक नियमबारे सचेतना लगायतका कार्य गर्दै आएको छ ।

दुर्घटना न्यूनिकरणको लागि अभियान नै सञ्चालन गरेको प्रहरी निरिक्षक घिमिरेले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस