पनौतीमा सम्पदा क्षेत्र झल्कने ‘कलात्मक भित्ते चित्र’

नौलो समाचार संवाददाता
२०८० चैत्र १८, आईतबार मा प्रकाशित २८२ पटक पढिएको
पनौतीमा सम्पदा क्षेत्र झल्कने ‘कलात्मक भित्ते चित्र’

पनौती / पनौती नगरपालिका वडा नं ७ स्थित त्रिवेणीघाट परिसरमा पनौतीको सम्पदा क्षेत्र झल्कने ‘कलात्मक भित्ते चित्र’ तयार गरिएको छ ।

पनौती पर्यटन विकास केन्द्रले त्रिवेणीघाट परिसरस्थित एक घरको भित्तामा पवित्र तीर्थस्थल त्रिवेणी क्षेत्रको उत्पती, महत्व, ऐतिहासिकता झल्काइएको केन्द्रका अध्यक्ष पुरुषोतम कर्माचार्यले जानकारी दिए ।

भित्ते चित्रमा ऐतिहासिक त्रिवेणी क्षेत्र, इन्द्रेश्वर मन्दिर परिसर, रोशी र पुण्यमाता खोला, महादेव,  फुलचोकी माई, सुनको प्रतिक तोरीको फुल र चाँदीको प्रतिक मूलाको फुल आदी समावेश छ ।

ललितपुरका आयुष बज्राचार्य नेतृत्वमा रहेका ३ कलाकारले भित्ते चित्र बनाएका हुन् ।

उक्त भित्ते चित्र पनौतीको पर्यटन विकास र प्रवद्र्धनमा उपयोगी हुने विश्वास केन्द्रको छ ।

भित्ते चित्र सार्वजनिक गर्न आयोजित कार्यक्रममा बाग्मती प्रदेशका पूर्व मन्त्री रहेका प्रदेश सभा सदस्य तीर्थ लामाले सो क्षेत्रको जनप्रतिनिधी भएको हिसाबले पर्यटन विकासको लागि बिनियोजन गराएको बजेटको प्रतिफल राम्रो देखिएको बताए । उनले उक्त भित्ते चित्र सो क्षेत्रको सम्पदा, संस्कृती जगेर्नाको लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।

पनौतीका नगर प्रमुख रामशरण भण्डारीले पनौतीको केही क्षेत्रलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्नको लागि सबैको उत्तिकै सहयोगको अपेक्षा गर्दै पनौती पर्यटन विकास केन्द्रमार्फत नगरको पर्यटन विकासको लागि काम गर्न सकिने बताए ।

पनौतीबारे जानकार लेखक सूर्यप्रसाद लाकोजूले पनौतीको धार्मिक, सास्कृतिक र ऐतिहासिक पाटोबारे चर्चा गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिना, समाजसेवी जगन्नाथ गिरी, पनौती पर्यटन विकास केन्द्रका संस्थापक अध्यक्ष सुरेश सैंजु, अध्यक्ष पुरुषोतम कर्माचार्य, सचिव सिजन सुद्धकार लगायतले पनौतीको पर्यटन विकासको लागि प्रदेश सरकारबाट पहल गरेको पूर्वमन्त्री लामालाई आभार प्रकट गरे ।

पनौती पर्यटन विकास केन्द्रले सो क्षेत्रको पर्यटकीय क्षेत्रको विकासको लागि विभिन्न कदम चालिरहेको छ । आफनै पहलमा नेवारी परिकारको खाजा घर सञ्चालनमा ल्याएका उनीहरुले पर्यटक पासपोर्ट लागू गराउने तयारीमा छन् ।

पर्यटक पथप्रदशर्क तयार गर्न तालिम चलाएको केन्द्रले परम्परागत सामाग्री निर्माणको लागि तालिम दिएको छ ।

हालै केन्द्रले २३ जना महिलालाई बासका परम्परागत सामाग्री बनाउनको लागि १३ दिनसम्म तालिम सञ्चालन गरेको थियो ।

 


प्रतिक्रिया दिनुहोस