सामुदायिक साकोसले भन्यो : ‘हिनामिना भएको रकम असुली भएर कर्मचारी बर्खास्त गरिसक्यौं ’

नौलो समाचार संवाददाता
२०८२ जेष्ठ १२, सोमबार मा प्रकाशित ९४ पटक पढिएको
सामुदायिक साकोसले भन्यो : ‘हिनामिना भएको रकम असुली भएर कर्मचारी बर्खास्त गरिसक्यौं ’
तस्वीर सौजन्य : सिरुपाते खबर डटकम

पनौती /  सहकारीको रकम हिनामिना भएको प्रकरणमा पनौतीस्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले हिनामिना भएको रकम असुली भएर कर्मचारी बर्खास्त गरिसकेको जनाएको छ ।

सोमबार अध्यक्ष मुकुन्द शर्माले  जारी गरेको विज्ञप्तिमा सहकारीले रकम हिनामिनामा संलग्न कुशादेवी सेवा केन्द्र प्रमुख विकास खड्का, ऋण सहायक सुवाष सापकोटा र ऋण सहायक सुन्दर घिमिरेले अपचलन गरेको रकममा नियमानुसार अधिकतम ब्याज जोडी साँवा समेत असुल गरिसकेको र जेठ १० गतेदेखि बर्खास्त गरी कानूनी कार्वाहीको लागि सम्बन्धित निकायमा लेखि पठाइएको उल्लेख छ ।

कुशादेवी सेवा केन्द्रमा प्रमुख रहेका खड्काले आफ्ना आफन्त तथा नातेदार सदस्यहरुलाई आफू जिम्मेवारी बसी ऋण बनाई आफैले एक करोड अठ्तीस लाख पचास हजार र आफ्नो जिम्मेवारीमा रहेको सेवा केन्द्रको नगद नौ लाख अपचलन गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ । मुख्य कार्यालयको ऋण विभागमा साविक ऋण सहायक पदमा कार्यरत कर्मचारी सुवाष सापकोटाले तीन करोड तीन लाख बयासी हजार हिनामिना गरेको पाइएको थियो । ढुंखर्क सेवा केन्द्रमा साविक ऋण सहायक पदमा कार्यरत सुन्दर घिमिरेले अन्ठाउन्न लाख पच्चिस हजार नौ सय चौसठी रुपैंया त्रिहत्तर पैसा हिनामिना गरेको पाइएको थियो ।

सहकारीले संस्थाका सदस्यहरुको बचत रकममा कुनै क्षति नपुगेको भन्दै प्रविधिबाट हुनसक्ने जोखिमका सवालमा थप सतर्कता अपनाई सदस्यको बचतको सुरक्षाको ग्यारेन्टीको सवालमा पूर्ण प्रतिवद्ध रहेको जनाउँदै उक्त विषयले विचलित नहुन र संस्थाको सम्पूर्ण रकम सुरक्षित रहेको जानकारी गराउँदै सदस्य र संस्थाको सम्पूर्ण सम्पत्ती तथा दायित्वको जिम्मेवारी सञ्चालक समिति र उच्च व्यवस्थापनले पूर्ण रुपमा लिएको प्रतिवद्धता समेत व्यक्त भएको छ ।

प्रतिक्रिया दिनुहोस