धुलिखेल अस्पतालमा ट्रमा सेन्टर बन्ने, आज प्रधानमन्त्रीले शिलान्यास गर्दै

नौलो समाचार संवाददाता
२०८२ जेष्ठ १४, बुधबार मा प्रकाशित १४२ पटक पढिएको
धुलिखेल अस्पतालमा ट्रमा सेन्टर बन्ने, आज प्रधानमन्त्रीले शिलान्यास गर्दै

धुलिखेल / धुलिखेल अस्पतालमा एक सय शैयाको ट्रमा सेन्टर बन्ने भएको छ ।

काभ्रेपलाञ्चोक, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, भक्तपुर जिल्लाका साथै विपी राजमार्गले जोड्ने तराईका जिल्लाहरुका गम्भीर घाइते र आकस्मिक स्वास्थ्य उपचार तत्काल आवश्यक भएका विरामीहरुलाई उपयुक्त उपचार प्रदान गर्ने उद्देश्यले सेन्टर स्थापना गर्न लागिएको हो ।

सन् २०२३ अक्टोबर र २०२५ मे मा नेपाल सरकार र जापान सरकारको रोहबरमा जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी नेपाल र अर्थ मन्त्रालयबीच ३ दशमलव ८७९ विलियन जापानिज ऐन लगानी बराबरको सय शैयाको धुलिखेल अस्पताल ट्रमा तथा इमरजेन्सी सेन्टरको निर्माणको सम्झौतामा हस्ताक्षर भएको अस्पतालका प्रा. डा. दिपक श्रेष्ठले जानकारी दिए ।

जापानको टोडा कोअपरेशन टोकियोले निर्माण गर्ने परियोजनामा सिटीस्क्यान, एम.आर. आई मेसिन, शल्यक्रिया कक्ष, भेन्टिलेटर, एक्सरे मेशिन, अस्पतालका बेडहरुसहित २०२७ को जुन महिनामा हस्तान्तरण गरिनेछ ।

डा. दिपकका अनुसार, मृत्युको प्रमुख कारण बनिरहेको सवारी दुर्घटना र नेपालमा रुख, भिर, पाखाबाट लडेर हुने चोटपटकपछि घाइतेले शारीरिक र मानसिक क्षति बेहोर्नुपर्ने अवस्था छ ।

ट्रमा सेन्टर बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस