खानीखोला / काभेपलाञ्चोकको विकट मानिने खानीखोला गाउँपालिकाले मातृ शिशु स्वास्थ्यलाई प्राथमिकतामा राखेर गर्भवतीको पोषण र सुरक्षालाई ध्यान दिइ ‘झण्डा र अण्डा’ कार्यक्रम लागू गर्ने भएको छ ।
गाउँ सभाको सत्रौं अधिवेशनमा गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले पेश गरेको नीति तथा कार्यक्रम सभाले पारित गरेको हो । कार्यक्रम अन्तर्गत गर्भवतीको स्वास्थ्य सुरक्षा तथा घर पहिचानको लागि घरमा झण्डा राख्ने र १० क्रेट अण्डा उपलव्ध गराइनेछ । साथै, गाउँपालिकाले आङ खसेका महिलाको शल्यक्रिया गर्नुपर्ने अवस्थामा गाउँपालिकाले ५ हजार रुपैयाँ राहत स्वरुप प्रदान गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
नीति तथा कार्यक्रममा स्थानीय उत्पादन खुवा तथा कफीलाई आफ्नै लेवलिङ र ब्राण्डिङ गर्ने, तोरी र कफीलाई प्रति पाथी २५ रुपैयाँ अनुदान दिने, ३ बर्षभित्र अर्गानिक गाउँपालिका घोषणा गर्ने उल्लेख छ । कफी, खुवा, तोरी, कोदोको रक्सी, बेलको जुस प्रशोधन र औद्योगिकरण गर्ने, गाउँपालिकाका कार्यक्रममा बाहिरिया खाना र खाजाको भुक्तानी नदिने, गाउँपालिका, वडा, विद्यालय लगायतका संस्थामा बालमैत्री अभियान सञ्चालन गर्ने र २०८३ सालभित्रै गाउँपालिकामा पूर्ण विद्युतिकरण गर्ने नीति तथा कार्यक्रम गाउँपालिकाले पारित गरेको छ ।
गाउँसभामा उपाध्यक्ष दोर्जेमान जिम्वाले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ का लागि ५२ करोड २३ लाख ३२ हजार ३ सय ५३ रुपैयाँ बराबरको बजेट पारित गरेको छ ।
गाउँसभाकै अवसरमा उत्कृष्ट जनप्रतिनिधीको रुपमा वडा नं १ का अध्यक्ष सन्तमान थिङ , गाउँपालिका सूचना अधिकारी अर्जुन भुजेल, शिक्षा शाखा प्राविधिक सहायक चक्रबहादुर थापा, आन्तरिक लेखा परीक्षणका खगेन्द्र थापा, कार्यालय सहयोगी सिजन थिङ, हल्का सवारीचालक अस्वीर बल र राष्ट्रिय महिला स्वयंसेविका राममाया मुक्तानलाई सम्मानपत्र, दोसल्ला र नगदसहित सम्मान गरिएको थियो । गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ), उपाध्यक्ष दोेर्जेमान जिम्वा, प्रमुख प्रशासकीय अधिकृत जीवनराज अर्याल लगायतले उनीहरुलाई सम्मान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस