पनौती / काभ्रेको पनौती नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ६१ करोड ११ लाख ११ हजारको बजेट पारित गरेको छ ।
कार्यपालिकाको निर्णय भन्दा बढीको बजेट सिमा तोकिएको भन्दै सोमबार नगर सभाको सत्रौं अधिवेशनको पहिलो बैठक बहिष्कार गरेका उपप्रमुख गिता वञ्जारा सहित एमालेबाट निर्वाचित जनप्रतिनिधी बजेटमा ‘भागवण्डा’ मिलेर सहमतिमा आएपछि बुधबारको बैठकमा नीति तथा कार्यक्रम र बजेट पेश भएर छलफलपछि पारित भएको हो ।
कार्यपालिकामा भएको सहमति विपरीत ४ करोड ८५ लाखभन्दा बढी बजेट थपेर आउन लागेको भन्दै उपप्रमुख बञ्जारासहित एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू पहिलो बैठकमा अनुपस्थित भएपछि नगर प्रमुखले बुधवार सम्मका लागि स्थगित गरेका थिए ।
नगरपालिकामा बचेको ३६ करोड स्रोतमध्येबाट १२ वटा वडालाई १ करोडका दरले १२ करोड वितरण गर्ने, नगर गौरवका योजनामा ५ करोड र वडाको सिफारिसमा प्रमुख र उपप्रमुखको कोटाबाट ९ करोड ५० लाखका दरले योजना बाड्ने सहमति थियो तर, विपद व्यवस्थापन, विपदपछिको पुनर्वास, बसपार्क, पनौती बजार खानेपानी, मुख्य बजारमा बत्ती जडान, रंगशाला लगायतका नगर गौरवका योजना ५ करोड विनियोजन भएको सूचना पाएपछि उपप्रमुख वञ्जाराले ती नगरका गौरवका योजना ‘प्रमुखको कोटाको बजेटबाट हिसाब हुनुपर्ने’ भन्दै उपप्रमुखसहित एमालेबाट निर्वाचित जनप्रतिनिधीले बखेडा झिकेका थिए । मंगलबार प्रमुख र उपप्रमुखबीचमा प्रमुख र उपप्रमुखले बाँड्ने ९ करोड ५० लाखलाई बढाएर १० करोड ५० लाख रुपैयाँ पु¥याइएपछि विवाद समाधान भएको थियो ।
चालुतर्फ ८१ करोड १५ लाख ३० हजार र पूँजीगततर्फ ७९ करोड ९५ लाख ८१ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
बुधवारको नगर सभामा नगर प्रमुख रामशरण भण्डारीले प्रस्तुत गरेको बार्षिक नीति तथा कार्यक्रम र उपप्रमुख गिता वञ्जाराले प्रस्तुत गरेको आर्थिक बर्ष २०८२/८३ को आय/व्ययसहितको बजेट तथा कार्यक्रम पारित भएको छ ।
प्रतिक्रिया दिनुहोस