मनसुन पूर्वतयारी तथा विपद प्रतिकार्य योजनाबारे नमोबुद्धमा अन्तरक्रिया

नौलो समाचार संवाददाता
२०८२ अषाढ १५, आईतबार मा प्रकाशित १९२ पटक पढिएको
मनसुन पूर्वतयारी तथा विपद प्रतिकार्य योजनाबारे नमोबुद्धमा अन्तरक्रिया

भकुण्डेवेशी/ जिल्ला विपद व्यवस्थापन समितिले मनसुन पूर्वतयारी तथा विपद प्रतिकार्य योजनाबारे स्थानीय तहसंग अन्तरक्रिया गरेको छ ।

समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरिक्षक (एसपी) कोमल शाह, शसस्त्र प्रहरी बल, नेपाल नं १५ गण हेडक्वार्टर काभ्रेका गणपति शसस्त्र प्रहरी उपरिक्षक प्रेम प्रसाई, राष्ट्रिय अनसुन्धान जिल्ला कार्यालय काभ्रेका प्रमुख रहेका अनुसन्धान निर्देशक दिपक खड्का, श्रीमेहर गण धुलिखेलका सेनानी इश्वरबहादुर बस्नेत, जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रशासकीय अधिकृत अरुण राईसहितको टोलीले नमोबुद्ध नगरपालिका प्रमुख कुनसाङ लामा, वडाअध्यक्षसहित कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीसहित कर्मचारीहरुसंग मनसुनजन्य विपद, जोखिमयुक्त बस्ती, सुरक्षित स्थान लगायतका विषयमा छलफल गरेका हुन् ।

सहभागी वडाअध्यक्षहरुले वडाका जोखिमयुक्त स्थानको जानकारी दिँदै उद्दार तथा नजिकैको सुरक्षित स्थान, सुरक्षा युनिट, स्वास्थ्य संस्था, बजार क्षेत्र, हेलिप्याड, उद्दार शिविर राख्न मिल्ने स्थानबारे जानकारी गराएका थिए ।

प्रमुख जिल्ला अधिकारी ढकालले विपद व्यवस्थापन स्थानीय तहको प्रमुख दायित्व र जिम्मेवारी भएको भन्दै त्यसमा क्षमता अभिवृद्धि, प्राविधिक सहयोगको लागि सुरक्षा निकायले सहयोग गरिरहेको बताए । उनले मनसुन पूर्वतयारी तथा प्रतिकार्य वास्तविक र सबैको अपनत्व होस् भन्नको लागि सबै स्थानीय तहमा गएर अन्तरक्रिया र अभिमुखिकरण गर्ने बताए ।

नमोबुद्ध नगरपालिका प्रमुख कुनसाङ लामाले विपद व्यवस्थापनका लागि स्थानीय तहमा उपलव्ध श्रोत र साधन उपलव्ध गराएर सुरक्षा निकायसंग सहकार्य गर्न तयार रहेको जानकारी दिँदै विपद अगावै सूचना आउने प्रविधी (अलार्मिङ सिस्टम) प्रयोग गर्न सके क्षति कम गर्न सकिने बताए ।

 

प्रतिक्रिया दिनुहोस