नमोबुद्धको जयमंगलटारमा मनसुनजन्य विपद उद्दार अस्थायी वेश स्थापना

नौलो समाचार संवाददाता
२०८२ अषाढ १५, आईतबार मा प्रकाशित १३२ पटक पढिएको
नमोबुद्धको जयमंगलटारमा मनसुनजन्य विपद उद्दार अस्थायी वेश स्थापना

भकुण्डेवेशी / नमोबुद्ध नगरपालिका वडा नं ७, जयमंगलटारमा सशस्त्र प्रहरी बलको मनसुनजन्य विपद उद्दार अस्थायी वेश स्थापना गरिएको हो ।

सशस्त्र प्रहरी बल, १५ नं गण हेडक्वार्टर, पाँचखाल मातहत रहने गरी जयमंगलटारमा अस्थायी वेश स्थापना गरिएको गणपति शसस्त्र प्रहरी उपरिक्षक प्रेम प्रसाईले जानकारी दिए ।

नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिका हुने मनसुनजन्य विपद प्रतिकार्य, उद्दारमा काम गर्ने गरी सशस्त्र प्रहरी निरीक्षक आलोक बस्नेतको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी खटिएका छन् । ती क्षेत्रका अलावामा वी.पी राजमार्गमा हुने बाढी, पहिरो लगायतका विपदमा पनि टोली खटिनेछ । १० जनाको टोली रोशी गाउँपालिकाको मंगलटारमा खटिनेछ । वेशमा रहेका मध्ये ८ जना अग्नी नियन्त्रण, डोरीको माध्यमबाट उद्दार लगायत विशेष तालिमप्राप्त ८ जना वेशमा छन् ।

आइतबार जिल्ला विपद व्यस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरिक्षक (एसपी) कोमल शाह, शसस्त्र प्रहरी बल, नेपाल नं १५ गण हेडक्वार्टर काभ्रेका गणपति शसस्त्र प्रहरी उपरिक्षक प्रेम प्रसाई, राष्ट्रिय अनसुन्धान जिल्ला कार्यालय काभ्रेका प्रमुख रहेका अनुसन्धान निर्देशक दिपक खड्का, श्रीमेहर गण धुलिखेलका सेनानी इश्वरबहादुर बस्नेत, जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रशासकीय अधिकृत अरुण राईसहितको टोलीले वेश निरिक्षण गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी ढकालले विपदमा परेर कसैले ज्यान गुमाउन नपर्ने गरी काम गर्न अनुरोध गर्दै स्थानीय तह, स्थानीय समुदाय र सरोकारवालाहरुसंग सहकार्य गर्दै अघि बढ्न निर्देशन दिए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरिक्षक (एसपी) कोमल शाह, श्रीमेहर गण धुलिखेलका सेनानी इश्वरबहादुर बस्नेत लगायतले मानिसको ज्यानको सुरक्षाको लागि खटिदा आफ्नो सुरक्षामा पनि ध्यान दिन सुझाए ।

प्रतिक्रिया दिनुहोस