पाँचखाल र मण्डनदेउपुरमा ‘रोपाईं  महोत्सव’

नौलो समाचार संवाददाता
२०८२ अषाढ १५, आईतबार मा प्रकाशित ८५ पटक पढिएको
पाँचखाल र मण्डनदेउपुरमा ‘रोपाईं  महोत्सव’

पाँचखाल । जिल्लाको पाँचखाल र मण्डनदेउपुर नगरपालिकामा ‘रोपाईं  महोत्सव’ गरिएको छ ।

२२औँ राष्ट्रिय धान दिवसको अवसर पारेर दुई स्थानमा छुट्टाछुट्टै कार्यक्रममा ‘रोपाईं महोत्सव’ गरिएको हो ।

जिल्ला कृषि विकास कार्यालय काभ्रे र पाँचखाल नगरपालिकाको आयोजना, पशु सेवा कार्यालय काभ्रे र बागबानी विकास केन्द्र पाँचखाल लगायतको सहआयोजनामा पाँचखालमा भएको कार्यक्रममा आधुनिक प्रविधि स्वरुप मेशिनबाट धान रोपियो ।

जिल्ला समन्वय समिति प्रमुख दीपककुमार गौतम, पाँचखाल नगरका प्रमुख महेश खरेल, जिल्ला कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडी, बागबानी विकास केन्द्रका प्रमुख विष्णु बोगटी, रेशम खेती विकास केन्द्रका प्रमुख कृष्ण धिताल लगायत रोपाईंमा सहभागी भए ।

मण्डनदेउपुर नगरपालिका–८ घाइटारको चाखोला फाँटमा भने गोरू, ट्याक्टर र स्थानीय शैली प्रदर्शन गर्दै रोपाईं गरिएको छ । नगरकोट भ्रमण बर्ष २०८२ मनाउन सहकार्य गरेका काभ्रेको मण्डनदेउपुर र बनेपा नगरपालिका, भक्तपुरको चाँगुनारायण र काठमाडौंको शंखरापुर नगरपालिकाले धान दिवसको सन्दर्भ पारेर संयुक्त रुपमा रोपाईं महोत्सव गरेका हुन् ।

वागमती प्रदेश सभा सदस्य लक्ष्मण लम्साल, मण्डनदेउपुर नगर प्रमुख टोकबहादुर वाइवा, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, चाँगुनारायण नगर प्रमुख जीवन खत्री, मण्डनदेउपुर उपप्रमुख विष्णुमणि नेपाल, बनेपा नगर उपप्रमुख विमला सापकोटा दाहाल लगायत रोपाईंमा सहभागी भए ।

कार्यक्रममा सहभागी कृषकहरुले समयमा मल नपाएको गुनासो गरे ।

काभ्रेमा हालसम्म धानखेती हुने ३८ प्रतिशत भुभागमा रोपाइँ सकिएको कृषि विकास कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस