अमलटार / बाढी र पहिरोको उच्च जोखिममा रहेको रोशी गाउँपालिकामा विपद जोखिम न्युनिकरण गर्न अन्तरक्रिया गरिएको छ ।
गत असोज १० देखि १२ गतेसम्मको अविरल बर्षापछिको बाढी र पहिरोमा धेरै प्रभावित र क्षति बेहोरेको रोशी गाउँपालिकामा यस बर्ष जोखिम कम गर्न जिल्ला विपद व्यवस्थापन समिति तथा स्थानीय विपद व्यवस्थापन समितिबिच सोमबार गाउँपालिकामा अन्तरक्रिया गरिएको हो ।
गाउँपालिका अध्यक्ष तथा स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्ष दिनेश लामाले विपदपछिको खोज, उद्दार, राहतमा सकृयता देखाएको संघ र प्रदेश सरकार पुनर्निर्माणमा अल्मलिएको प्रतिकृया दिए । सडक, नीजि आवास, सार्वजनिक भवन, अस्पताल, औद्योगिक ग्राम लगायतका संरचना निर्माण गर्न बाँकी रहेको भन्दै अति प्रभावित गाउँपालिका रोशीमा अझै सतर्क भएर काम गर्नुपर्ने बताए ।
उपाध्यक्ष मिमबहादुर वाइवाले विपद व्यवस्थापनको लागि सरोकारवाला सबै संग सहकार्य गर्ने बताए ।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सबैको सुझाव र सहभागितासहित मनसुन पूर्वतयारी कार्ययोजना निर्माण गर्न सबै स्थानीय तहमा छलफल अन्तरक्रिया थालिएको बताए । उनले विगतको अनुभव र भौगोलिक अवस्थितीले गर्दा रोशी गाउँपालिका बाढी र पहिरो लगायतका विपदमा बढी प्रभावित हुन सक्ने भन्दै आवश्यक खाद्यान भण्डारण, उद्दार सामाग्री, हेलिप्याड र राजमार्गसहितका पहुँच मार्गहरु पनि अवरोध हुने अवस्था आउन दिन नहुने बताए ।
नेपाली सेनाका प्रमुख सेनानी राममणि सापकोटा, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरिक्षक (एसपी) कोमल शाह, सशस्त्र प्रहरी बल, १५ नं गण हेडक्वाटरका गणपति सशस्त्र प्रहरी उपरिक्षक प्रेम प्रसाईं लगायतले सुरक्षा निकायसंग भएका जनशक्तिको लागि श्रोत साधन व्यवस्थापनको लागि स्थानीय तहलाई सहकार्य गरिदिन अनुरोध गरे ।
अन्तरक्रियामा सहभागी वडा अध्यक्षहरुले बाढी, पहिरोको जोखिम भएको, केही स्थानमा हवाई उद्दार सम्भव नभएकोेले पूर्वाधारहरु तयार गर्नुपर्ने बताएका थिए ।
रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तनाले बाढी र पहिरोको जोखिममा रहेकाको तथ्याकं अध्यावद्यिक गरेर व्यवस्थापनको लागि सहकार्य गर्ने बताए ।
गाउँपालिकाका विपद फोकल पर्सन इञ्जिनियर भुपेन्द्र अधिकारीले विपद व्यवस्थापनको लागि अन्तर पालिका समन्वयका साथै विपद सहायता कक्ष समेत स्थापना गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस