बनेपाको लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षणको प्रारम्भिक नतिजा सार्वजनिक

नौलो समाचार संवाददाता
२०८२ अषाढ १७, मंगलबार मा प्रकाशित ९८ पटक पढिएको
बनेपाको लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षणको प्रारम्भिक नतिजा सार्वजनिक

बनेपा /  बनेपा नगरपालिकाले लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण (GESI Audit) को प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ ।

मंगलबार बनेपामा सार्वजनिक सुनवाई गर्दै नगरपालिकाले चालु आर्थिकवर्षको नतिजा सार्वजनिक गरेको हो । विज्ञ नवीनचन्द्र घिमिरेमार्फत गरिएको परीक्षणमा नगरपालिकाले ९७ दशमलव ५ प्रतिशत अंक प्राप्त गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा नगरपालिकाले ९८% अङ्क प्राप्त गरेर बागमती प्रदेशमा प्रथम भएको थियो ।

कुनै पनि संस्था, परियोजना वा कार्यक्रममा लैंगिक समानता र सामाजिक समावेशीकरण कति प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको छ भन्ने मूल्यांकन गर्न लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण गरिन्छ । यसले संस्थाको नीति, योजना, कार्यशैली, वातावरण, र पहुँचमा समावेशीता सुनिश्चित गर्न सहयोग गर्छ । यसमा संस्थाको नीति कत्तिको लैंगिक र समावेशी छ, निर्णय प्रक्रियामा महिला, दलित, जनजाति, अपांगता भएका व्यक्ति वा पछाडि पारिएका समुदायहरूको सहभागिता र प्रतिनिधित्व कस्तो छ, काम गर्ने वातावरण समावेशी र सुरक्षित छ कि छैन, सेवा र कार्यक्रमहरू सबै वर्गले समान रूपमा पाउँछन् कि छैन, बजेटमा न्भ्क्क्ष् समावेश भएको छ कि छैन, बजेट खर्चमा पारदर्शिता कस्तो छ र यसबारे कर्मचारी तालिम, अभिमुखीकरण वा जागरण कार्यक्रम भएका छन् कि छैनन् मूल्याकंन गरिन्छ ।

परिणाम सार्वजनिक गर्ने कार्यक्रममा नगरप्रमुख शान्तिरत्न शाक्यले पूर्वाधार सँगसँगै सामाजिक विकासका क्षेत्रमा पनि नगरपालिकाले उत्कृष्ट कार्य गर्दै आएको दाबी गर्नुभयो। सबैको मेहनतले सम्भव भएको भन्दै उहाँले संलग्न समयमा आभार प्रकट गरे ।

प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछानेले लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षणमा नगरपालिकाले उत्कृष्टता हासिल गरेको भन्दै यसको गुणस्तर कायम गरेर निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सपना ओलीले नगरपालिकाका नीति कार्यक्रम र बजेट ले लैंगिक समानता र समाजिक समावेशीकरण सुनिश्चित गर्न आधार दिएको बताइन्।

प्रतिक्रिया दिनुहोस