धुलिखेल / धुलिखेल नगरपालिका वडा नं ४ ले महिला स्वास्थ्य स्वंयमसेविकालाई नगदसहित सम्मान गरेको छ ।
स्वास्थ्यको क्षेत्रमा सहयोग गरेबापत स्वास्थ्य स्वयंसेविका मन दाहाल, सुनिता थापा र रमुना अधिकारीलाई नगद ५ हजारसहित सम्मान गरिएको हो ।
वडाअध्यक्ष उत्तमप्रसाद तिमल्सिना, सदस्य गोवद्र्धन थापा मगर, नगरपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाई शाखा प्रमुख सन्दीप के.सी. लगायतले उनीहरुलाई सम्मान गरेका थिए । वडा कार्यालयले बर्षेनी सम्मान गर्दै आएको छ ।
वडाकै स्विकृत कार्यक्रम अन्तर्गत प्रति मृतक परिवार १० हजार हस्तान्तरण समेत गरिएको छ । यो बर्ष ९ जनालाई रकम हस्तान्तरण गरिएको अध्यक्ष तिमल्सिनाले जानकारी दिए ।
बुधवार नै वडाले सुत्केरीलाइ पोषक तत्व वितरण गरेको छ । १९ जनालाई आधा माना घिउ र १ क्रेट अण्डाका दरले वितरण गरिएको हो । वडा कार्यालयले हरेक वर्ष दुई पटकका दरले सुत्केरीलाई पोषक तत्व वितरण गर्छ ।
वडा अध्यक्ष तिमल्सिनाले आमा र बच्चाको स्वास्थ्य ध्यान दिएर पोषक तत्व वितरण गरेको बताए ।
सुत्केरी अवस्थामा पोषणको महत्वबारे जानकारी गराउँदै आधारभूत स्वास्थ्य शाखा प्रमुख सन्दिप के.सी.ले पोषणको महत्वबारे जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस