धुलिखेल अस्पतालको ३० औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा स्मरण गरियो स्थापनाकालका ती दिन

नौलो समाचार संवाददाता
२०८२ पौष ११, शुक्रबार मा प्रकाशित ५१७ पटक पढिएको

धुलिखेल अस्पतालको ३० औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा स्मरण गरियो स्थापनाकालका ती दिन

धुलिखेल / धुलिखेल अस्पतालको ३० औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा स्थापनाकालका दिनहरू स्मरण गरिएको छ ।

शुक्रबार अस्पतालको ‘मर्निङ कन्फरेन्स’मा सुरुवाती दिनमा काम गरेका चिकित्सकहरुले विगतका स्मरणहरु सुनाए ।

अस्पतालका संस्थापक प्राध्यापक डा. रामकण्ठ माकजु श्रेष्ठले आफूले देखेको सपना पूरा गर्न सबैको साथ, सहयोग पाएको स्मरण गरे । ३० वर्षको अवधिमा धेरै उकालो–ओरालो, खाल्डाखुल्डी भोगेको अनुभव सुनाउँदै उनले जोखिम नमोलेको भए सफलता हासिल नगर्ने तर्क गरे । अस्पतालमा संलग्न सबैले ‘आफ्नो’ सोचेर काम गरेकोले नै अस्पतालले सफलता प्राप्त गरेको बताए ।

अस्पतालको सुरुवाती दिनमा काम गरेका डा. राम गुरुङले सबैको तत्परता र कडा मेहनतका कारण अस्पतालले सफलता हासिल गरेको तर्क गरे । दुई कोठा र दुई जना चिकित्सकबाट सुरु भएको अस्पताल आजको अवस्थासम्म आएको तर्क गर्दै उनले संस्थापक डा. रामबाटै आफूले ‘इन्डोस्कोपी’ लगायतका काम सिकेको स्मरण गरे ।

प्रशासकीय निर्देशक रहेका डा. विराज कर्मचार्यले सन् २००३ मा संस्थामा प्रवेश गर्दा आफूमा रहेको ‘उर्जा’ अझै कायम रहेको बताउँदै सीफ ज्ञान, विवेक, तत्परतासँगै सफलताका लागि ‘त्याग’ पनि आवश्यक रहेको तर्क गरे ।

सन् २००५ मा अस्पतालमा सेवा प्रवेश गरेका प्राध्यापक डा. दीपक श्रेष्ठले धुलिखेलबासीको ठूलो सहयोगले अस्पताल स्थापना भएको स्मरण गर्दै संस्थापक डा. रामकण्ठ माकजु सधैँ आफ्नो प्रेरणादायी व्यक्तित्व भएको तर्क गरे ।

डा. सुनिला शाक्यले धुलिखेल अस्पताल प्रवेश गरेपछि आफ्नो ‘करियर’का बारेमा कहिले सोच्नु नपरेको तर्क गर्दै अस्पतालको सरसफाई, स्वास्थ्यकर्मीको हार्दिकता र बिरामीलाई गर्ने व्यवहारले आफूलाई सधैं ‘खुसी र सन्तुष्टी’ दिएको बताइन् ।

वार्षिक उत्सवकै पूर्वसन्ध्यामा अस्पतालमा शुक्रबार रक्तदान, फुड फेस्टिवल लगायतका कार्यक्रम आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस