धुलिखेल / पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकले चालु आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन हुने कार्यक्रमहरू सरोकारवालाबीच सार्वजनिक गरेको छ ।
विहिबार कार्यालयमा आयोजित सार्वजनिकीकरण गोष्ठीमा सहभागी स्थानीय तहका प्रमुख, पशु सेवा शाखा प्रमुखलगायत सरोकारवालाबीच चालु आर्थिक वर्षमा सञ्चालन हुने कार्यक्रम, स्थानीय तह र बजेटबारे जानकारी दिएको हो ।
पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा. बज्रकिशोर ठाकुरले बजेट कटौतीका कारण यस वर्ष धेरै कार्यक्रम गर्न नसकिएको बताउँदै स्थानीय तहले बजेट र कार्यक्रममा सहयोग र सहकार्य गर्ने अपेक्षा गरे । उनका अनुसार, चालुतर्फ ४ करोड १२ लाख र पुँजीगततर्फ ३ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्ला कार्यक्षेत्र रहेको पशु सेवा कार्यालयले पशु स्वास्थ्य प्रवद्र्धन, रोग नियन्त्रण, प्रविधि हस्तान्तरण, पशुपालनलगायत विभिन्न शीर्षकमा २६ कार्यक्रम सञ्चालन गर्नेछ ।
कार्यक्रममा सहभागी जिल्लास्थित १३ स्थानीय तहका पशुसेवा शाखा प्रमुखहरूले पशुमा लाग्ने रोग विरुद्धको खोपको सहज उपलब्धता सुनिश्चित गर्न, पशु क्षचि हुने लागि पशुपालक कृषकलाई राहत दिन, पशु स्वास्थ्य शिविर सञ्चालन गर्न उपयुक्त हुने सुझाव दिएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख प्रमुख दीपककुमार गौतमले अर्धवार्षिक समीक्षा गर्ने समयमा योजना सार्वजनिककरण कार्यक्रम भएको भन्दै आगामी आर्थिक वर्षका लागि अहिलेदेखि नै कार्यक्रम, बजेट योजना गर्न उपयुक्त हुने सुझाव दिए । उनले थोरै बजेट भएका टुक्रे योजनाहरू प्रदेश सरकारले विनियोजन गरेको देखिएकाले यसलाई एकीकृत रुपमा सञ्चालन गर्न सुझाव दिए ।
नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले प्रदेश सरकारले स्थानीय तहलाई समान बजेट विनियोजन नगरेको देखिएकाले स्थानीय तहहरूसँग सहकार्य गरेर कार्यक्रम कार्यान्वयन गर्न सुझाव दिए ।
भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले पशुसेवा कार्यालय छ भन्ने अनुभूति कृषकले गर्न नपाएको भन्दै स्थानीय तहहरूमा प्राविधिक जनशक्ति सल्लाह उपलब्ध गराउनु अनुरोध गरे।
पशु सेवा कार्यालयका पशु चिकित्सक डा. अनिशा श्रेष्ठले स्थानीय तह सँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाइन्।
प्रतिक्रिया दिनुहोस