बनेपा / भारतको देहरादुनमा भएको कराँते प्रतियोगितामा सहभागी नेपाली टोलीले ३ स्वर्णसहित ५ पदक जितेको छ ।
सोतोकान कराँते–डो स्पोर्टस् एसोसिएसनको आयोजनामा डिसेम्वर २७ र २८ तारिख देहरादूनमा भएको नवौं अन्तराष्ट्रिय खुला कराँते च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडीले ३ स्वर्ण, १ रजत र एक कास्य पदक जितेका हुन् ।
३० केजी तौल समूह (महिला) मा युजिन लामा, ४५ केजी तौल समूह (पुरुष) मा आरेश तुम्सिङ मगर र ५० केजी तौल समूह (पुरुष) मा रञ्जित थापाले स्वर्णपदक जितेक हुन् । ४५ केजी तौल समूह (पुरुष)का इलेश श्रेष्ठले रजत पदक र २५ केजी तौल समूह (महिला) मा आरुषा श्रेष्ठले कास्य पदक जितेका हुन् । आरेश, इलेश र आरुषा नमोबुद्ध नगरपालिका वडा नं ८ स्थित दाप्चा माध्यमिक विद्यालयका विद्यार्थी हुन् ।
नेपाल सोतोकान कराँते संघको नमोबुद्ध डोजोमार्फत वरिष्ठ प्रशिक्षक समेत रहेका राष्ट्रिय रेफ्री धनेन्द्रकुमार श्रेष्ठले उनीहरुलाई प्रशिक्षण दिएका थिए ।
नेपाली टोलि लिएर प्रमुख प्रशिक्षक धनेन्द्रकुमार श्रेष्ठका साथै टीम प्रशिक्षक सुरेश श्रेष्ठ र टिम म्यानेजर सिंहबहादुर श्रेष्ठसहितको टोली देहरादुन गएको थियो । नमोबुद्ध नगर प्रमुख कुनसाङ लामा नेपाल सोतोकान कराँते संघका संस्थापक अध्यक्ष एवं प्रमुख प्रशिक्षक हेमकुमार श्रेष्ठ लगायतले उनीहलाई विदाइ गरेका थिए ।
प्रशिक्षण र प्रतियोगिता खेल्न नगरपालिकाले आर्थिक सहयोग गरेको र नगरपालिकाको इज्जत राखेकोले सम्मान गरिने युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस