आसनको मर्यादा

नौलो समाचार संवाददाता
२०८३ जेष्ठ २३, शनिबार मा प्रकाशित ७४ पटक पढिएको

आसनको मर्यादा

नेपाल प्राचीन सभ्यता भएको आध्यात्मिक देश, देवताहरुले जन्म लिएको देवभूमि अनि ऋषिमुनिहरुको तपोभूमि हो । हिमालय सभ्यता भएको संसारकै उदाहरणीय हिमवत्खण्ड र मानसखण्डले छोएको पावन शिवभूमि हो । आज पनि हिमालयभित्र अष्टचिरञ्जीवीहरु तपस्यारत छन् भन्ने कुरा अग्रजहरु भन्ने गर्छन् । कैलाश पर्वत होस् वा मुक्तिनाथ क्षेत्र आज पनि मोक्षधामका रुपामा जीवन्त छन् । यी क्षेत्रको स्पर्शले मात्र पनि मानिसमा नवीन उर्जा प्राप्त हुने विश्वासले मात्र पनि हरेक मान्छे तत् क्षेत्रमा पुग्न लालायित हुन्छन् । यति मात्र होइन करुणा र मैत्रीको दर्शन प्रवाह गर्ने बुद्धको लुम्विनी होस् कि नागरिक कर्तव्य र ज्ञानको प्रवाह गर्ने राजर्षि जनकको मिथिला क्षेत्र जहाँ हिन्दु र बौद्धविच समभाव देख्न पाइने एकमात्र देश पनि नेपाल हो । शिवको स्वरुपरुपी हिमाल होस् वा शक्तिरुपी गङ्गा (नदी) ले वास गरेको ध्यान र ज्ञानको अपार भण्डारमा जन्मेका हामी नेपाली आज कता जाँदै छौं ?

पितृदेवो भवः, मातृदेवो भवः, आचार्यदेवो भवःको अद्वैत दर्र्शनबाट दीक्षित नेपाली समाज आज बहुल क्षेत्रमा छिन्नभिन्न बन्दै गएको प्रतीत हुन्छ । विचार, धर्म, शिक्षा, मानवतासमेत वर्गीय बन्दै गएको पाइन्छ । जात्रा,पर्व,संस्कृति,परम्परा, भाषा धर्मले जोडेको नेपालीपन खण्डित र विभाजित बनेको देखिन्छ । आखिर किन हराउँदै छ मान्छेमा मानवता ? किन बढ्दै छ मान्छेमा पशुता ? मान्छेमा मान्छे कम र पशुता ज्यादा किन ? संसारको सबभन्दा बुद्धिमान् प्राणी मान्छेले धर्म संस्कार कता छोड्यो ? अर्थात् हामीले हाम्रा रैथाने संस्कार, सामूहिकता र सामाजिकता कता भुल्यौं ? आधुनिक बन्ने नाउँमा परम्परागत मूल्य र मान्यता एकदेशको कथा बनायौं । हरेकभित्र एक र एकभित्र हरेकको आदर्श संस्कारलाई सुदूरमा छोड्दै अहङ्कार र अभिमानले मान्छेको मान्छे किन लोपोन्मुख बन्दै छ ? सायद समाजका अगुवा नै ढोंगी र पाखण्डी भयौं कि ?

आज मान्छेले आफ्नो पद/पोजिसन/स्थान/आसन चिनेन । पद/आसनको रक्षा गर्न जानेन /सकेन । जुन कामको जिम्मेवारी लिएको हो त्यसलाई विधिपूर्वक पूरा गरेन । मान्छेले आफ्नो काम कम र अरुको काम ज्यादा गर्न थाल्यो/ लिन थाल्यो । जस्तो बाबुले छोराको र छोराले बाबुको काम गर्न थाल्यो । शिक्षकले किसानको र किसानले शिक्षकको काम गर्न थाल्यो । शिक्षक प्रधान अध्यापक र प्रधान अध्यापक शिक्षा मन्त्री नै बन्न खोज्यो । सम्वाददाता सम्पादक बन्न थाल्यो । अर्थात् आफू जान्दिन पनि भन्न नजान्ने मान्छे सिकाउन थाल्यो । यसरी आफ्नो आसनभन्दा पर गएर अर्काको आसन ग्रहण गर्न थालेपछि समाज कता जान्छ ? मान्छेले अर्काको जिम्मेवारी वा आसन लिएपछि आफ्नो जिम्मेवारी अपूर्ण नै रहन्छ । यसले कार्य सिद्ध हुन सक्दैन । यसैकारण हाम्रो आसन/पद कलङ्कित बन्दै छ । मान्छेले पदीय आचरण भुलेर आपूmलाई र आफ्नो पद/आसन/पोजिसनलाई कलङ्कित बनाउँदै लग्यो ।

आमाबाबुसँग उचित, मर्यादित र अनुशासित व्यवहार नगरेका कारण छोराछोरीको पद कलङ्कित छ । दाजुभाइ दिदीबहिनीसँग उत्तम व्यवहार नगरेका कारण दाजुभाइ दिदीबहिनीको पद कलङ्कित छ । श्रीमान्सँग श्रीमती र श्रीमतीसँग श्रीमान्ले मर्यादित व्यवहार नगरेका कारण श्रीमान् श्रीमतीको पद कलङ्कित छ । शिष्यसँग गुरुको गुरुत्ताले हारेका कारण गुरुको पद कलङ्कित छ । गुरुसँग मर्यादित व्यवहार नगरेका कारण विद्यार्थीको पद कलङ्कित छ । माली मालिक र मालिक माली हुन थालेपछि दुवै पद कलङ्कित हुन्छन् । आज हरेक पदले आपूmले आफ्नो नगरेर अरुको जिम्मेवारी/आसन ग्रहण गर्न खोज्यो अर्थात् सिक्नभन्दा बढी सिकाउन खोज्यो । प्रत्येकले आफ्नो पद/आसनको दुरुपयोग गर्दै गयो र एक अर्काको दृष्टिमा कलङ्कित बन्दै गयो । आफ्नो सीमा र मर्यादा भुल्दै गयो । अझ एकथरी जता पनि फर्कन सक्ने मान्छेले त पदलाई मात्र होइन समाज र संस्थालाई नै कलङ्कित बनाउन सक्छन् । त्यसो भए अव के त ?

आज हामी जो जहाँ जुन पोजिसन (आसन) मा छौं त्यसलाई मैलो /धमिलो /गन्धक नबनाऔं । देवभूमि र ऋषिमुनिको तपोभूमिमा हिमालयको सभ्यतामा जन्मेका नेपाली हामी जुन कुलमा जन्मेका हौं त्यसलाई कलङ्कित हुनबाट जोगाऔं । कुलको मर्यादा र विधिविधानलाई भ्रष्टीकरणतर्फ नधकेलौं । आफ्नो कारणले अरुलाई हानी नपुर्याऔं । आफू हनुमान आफैं लङ्का जलाउने मार्गमा अग्रसर नबने कम्तीमा अर्को अन्याय हुँदैन । हामी आफ्नो जिम्मेवारी कम र अरुको जिम्मेवारीमा प्रतिक्रिया बढी गर्ने भएर कामको गुणात्मकता गुमाउँदै गइरहेका छौं । आफ्नो लागि सुन्नभन्दा अरुका लागि बोल्न हतार गर्छौंं । यसो हुँदा आफ्नो पदीय मर्यादा गुमिरहेको हुन्छ । जो जुन पोजिसनमा छौं त्यही असल काम गरे हुन्न र ? आआफ्ना आसनका सीमा सबैले मनन गरेर आफ्नो आसन अनुरुपको विविधसम्मत कर्म गरे समस्या आउला र ? खुकुरीभन्दा कर्द लाग्ने बाबुभन्दा छोरो जान्ने भनेको सायद आफ्नोे कर्म कम र अरुको कर्मको टिप्पणी बढी गर्ने भएर भनिएको होला । सिक्नभन्दा सिकाउन हतार गर्ने हाम्रो बानी बनेको छ । सायद मान्छेले अरुलाई जति आफूलाई देख्ने भएको भए आफूलाई जति घृणा अरुलाई गर्दैनथ्यो होला ।

तसर्थ हरेक शिक्षक, विद्यार्थी, मन्त्री, सांसद, पाठक, पत्रकार, बाबु, छोरा, श्रीमान्, श्रीमती, दाजुभाइ, साथी, सङ्गति, माली, मालिक, साहू, श्रमिकले पदको गरिमालाई गौरवपूर्ण बनाउने हो भने आफ्नो सीमा ख्याल गर्ने हो भने समाज भ्रष्टीकरणतिर जाँदैन र समाजको कुनै पनि पोजिसन/पद कलङ्कित हुँदैनन् । त्यसैले हरेक कार्यक्षेत्र सफल हुन अरुको पद /आसनमा बसेर अरुको काम नगरे पुग्छ । हरेकले अर्काको कर्म गर्दा आफ्नो कर्म राम्रो हुँदैन । मान्छेले संसार जान्न खोज्ने नै होइन आफ्नो पदीय सीमालाई जान्न र बुझ्न खोजे पुग्छ । आज मान्छे आफूलाई सुन्दैन । नसुनेपछि बुझ्नै । आपैंmलाई नबुझ्ने र नचिन्नेले अरुको पद /पोजिसन संहाल्न खोज्नु अँध्यारोमा अँध्यारो खोजेर उज्यालोको आश गर्नु जस्तो मात्र हो । त्यसैले मान्छेले संस्कार विर्सनु हुँदैन । संस्कार बाँच्यो भने मात्र समाज जीवित रहन सक्छ । अतः हामीले अरुको जिम्मेवारी लिने होइन आफ्नो जिम्मेवारी बोध गरौं, आफ्नो पोजिसन ख्याल गर्दै देवभूमिमा जन्मलिनुको सार्थकता पुष्टि गरौं । सर्व मङ्गलम् भवतु ।

पनौती १२, भालेश्वर

प्रतिक्रिया दिनुहोस