पनौती / कृषक महिलालाई आर्थिक गतिविधीमा प्रत्यक्ष रुपमा संलग्न गराउन पनौतीमा सक्रिय महिला तरकारी तथा फलफूल संकलन केन्द्र सञ्चालनमा ल्याइएको छ ।
कृषि पेशामा संलग्न भएपनि प्रत्यक्ष आर्थिक कारोबार नगरेका महिलालाई स्वरोजगार बनाइ आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्धेश्यले विभिन्न दातृ निकायको सहयोगमा सक्रिय महिला कृषि सहकारी संस्था लिमिटेडले संकलन केन्द्र सञ्चालनमा ल्याएको हो ।
विश्व खाद्य कार्यक्रम, फरेष्ट एण्ड फार्म फ्यासिलिटी, आइयुसिन, किसान दिदि परियोजनाको सहयोगमा सहकारी संस्थाको साझेदारीमा संकलन केन्द्र निर्माण गरिएको संस्थाका अध्यक्ष सुमित्रा आचार्य बञ्जाराले जानकारी दिइन् । उनका अनुसार, केन्द्रमा कृषक महिलालाई उत्पादन गरेका तरकारी तथा फलफुल संकलनसँगै धुने, सुकाउने, लेबलिङ, प्याकेजिङ, ग्रेडिङ, प्रशोधन, भण्डारण समेत हुन्छन् । विभिन्न प्रकारका क्याण्डी, अचार लगायतका उत्पादन समेत कोसेली घरमार्फत बिक्री–वितरण गरिनेछ ।

काभ्रेपलाञ्चोक जिल्लामा उत्पादित रैथाने बालीको संरक्षण, प्रवद्र्धन तथा बजारीकरण गर्ने उद्देश्यले राखिएको बञ्जाराले जानकारी दिइन् । स्थानीय बजारका साथै काठमाडौं, पोखरा, बुटबललगायतका प्रमुख शहरमा लैजाने लक्ष्य छ । संस्थाका अनुसार, ६ सय सदस्य मध्ये करिब ४ सय जना कृषिमा संलग्न छन् । १ सय जनाले विभिन्न उद्यम गरिरहेका छन् ।
दक्षिण एशियाली विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजालले संकलन केन्द्र उद्दघाटन गर्दै कृषक महिलालाई आर्थिक गतिविधीमा प्रत्यक्ष संलग्न गराउँदा उनीहरु आत्मनिर्भर हुने र उद्यमशीलता प्रवद्र्धन हुने तर्क गरिन् ।

सक्रिय महिला कृषि सहकारी संस्थाले महिलाको आर्थिक सशक्तीकरणका लागि सञ्चालन गर्दै आएका विभिन्न कार्यक्रमबारे जानकारी दिइयो ।





प्रतिक्रिया दिनुहोस