भकुण्डेवेशी / विशेषज्ञ जनशक्ति र सेवाका प्रकार बढ्दै गएपछि मेथिनकोट अस्पतालमा सेवाग्राहीको संख्या बढ्दै गएको छ ।
पछिल्लो ३ बर्षको तुलानात्मक विवरण अनुसार, अस्पतालमा जनशक्तिसंगै विभिन्न प्रकारका सेवा विस्तार भएपछि आकस्मिक, अन्तरंग र बहिरंग सेवा लिने सेवाग्राहीको संख्या बढेको हो ।
अस्पालका निमित्त सुपरिन्टेन्डेन्ट डा. रामशरण श्रेष्ठका अनुसार, आर्थिक बर्ष २०८०/८१ मा १८ हजार ८ सय ९ जनाले बहिरंग सेवा लिएकोमा २०८१/८२ मा १८ हजार ७ सय १४ जनाले सेवा लिएका थिए । आर्थिक बर्ष २०८२/८३ को हालसम्मको अवधीका २८ हजार १५ जनाले सेवा लिइसकेका छन् ।
५० शैयाको स्विकृत पाएको बाग्मती प्रदेश सरकार अन्तर्गतको मेथिनकोट अस्पतालमा भवन लगायतको अभावमा ४० शैया मात्र सञ्चालनमा छ । मेडिसिनका लागि ८, सर्जरीका लागि ८, बालरोगका लागि ४, नवजात शिशु सघन उपचार कक्षका लागि ३, प्रसूतिका लागि ३, आकस्मिक कक्षका लागि ८, अपरेसन थियटरका लागि १ र हेमोडायलिसिसका लागि ५ शैया छन् । अस्पतालले आकस्मिक सेवा, जटिल समेतका आकस्मिक शल्यक्रिया , प्रसूति तथा सम्बन्धित सेवाहरू, प्रयोगशाला, औषधि पसल (स्वास्थ्य बीमा सेवासहित), एक्स–रे, एम्बुलेन्स सेवा २४ सै घण्टा उपलब्ध गराउँदै आएको छ । अस्पतालमा हाल जनरल मेडिसिन, जनरल सर्जरी, हाडजोर्नी तथा नशा रोग, बालरोग, स्त्री तथा प्रसूति रोग विशेषज्ञ कार्यरत छन् भने मानसिक रोग दन्त रोग, आँखा रोग, र मातृशिशु क्लिनिक जस्ता विशेष सेवाहरू प्रदान भइरहेका छन् । अस्पतालमा साप्ताहिक रूपमा भिडियो एक्स–रे हुँदै आएको छ भने हेमोडायलिसिस सेवा पनि सुचारु गरिएको छ ।

अस्पतालले न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा पनि निरन्तर सुधार गर्दै सेवा विस्तारको क्रमलाई तीव्रता दिएको डा. श्रेष्ठले जानकारी दिए । एचडियु, फिजियोथेराली, एकद्वार प्रणालीमा आधारित संकट व्यवस्थापन केन्द्र, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई विशेष बहिरंग सेवा, विस्तारित सेवा पनि दिने तयारीमा रहेको उनले जानकारी दिए ।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद खनालले सिमित श्रोत र जनशक्तिमा उत्कृष्ट सेवा दिन अधिकतक प्रयास गरिएको बताए । ‘सिमित श्रोत र जनशक्तिले अधिकतम सेवा दिने प्रयास गर्दै आएका छौं, पछिल्लो समय सेवाग्राहीको सन्तुष्टी र विश्वास बढ्दै गएको छ,’ खनालले भने, ‘प्रदेशले सिमित चालु खर्च र केही अत्यावश्यक कामको लागि मात्रै खर्च गर्छ, आम्दानी कम हुँदा पनि आन्तरिक श्रोतबाट मिलाएर औषधी र अन्य सामाग्री कम हुन दिएका छैनौं, सबैको साथ र सहयोग चाहिएको छ ।’ उनले सेवा विस्तार, जनशक्ति थप र पूर्वाधार निर्माणको लागि पहल भइरहेको बताए ।
सेवाग्राहीको विश्वास जित्न अनुरोध
सेवा विस्तार गरिरहेको मेथिनकोट अस्पताललाई सेवाग्राहीको अझै मन जितेर काम गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् ।

एकिकृत सामुदायिक विकास नेपाल (आइसिडी) नेपालले गरेको सामाजिक परिक्षणको प्रतिवेदन प्रस्तुत गर्न आयोजित कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले नमोबुद्ध नगरपालिका, रोशी, तेमाल, महाभारत गाउँपालिकाको केन्द्र भाग र वीपी राजमार्गसंगै जोडिएको अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्नुपर्ने तर्क गर्दै बढी सेवाग्राहीलाई समेट्न उनीहरुमा विश्वास जगाउनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपानेले पछिल्लो समय अस्पतालले सेवा सुधार गर्दै गएको भन्दै उनले अस्पतालका सेवा, सुविधाबारे सञ्चारमाध्ययममार्फत प्रचार प्रसार गर्न पनि अनुरोध गरे ।
आइसिडी नेपालका तर्फबाट कार्यकारी निर्देशक वीरबहादुर लामाले प्रस्तुत गरेको सामाजिक परिक्षण प्रतिवेदनमा अस्पतालको सेवा प्रवाह, आर्थिक व्यवस्थापन, स्वास्थ्य बिमा, औषधि खरिद तथा संस्थागत सुधारका पक्षहरू समेटिएका छन् ।





प्रतिक्रिया दिनुहोस