सिरी ए फुटबल पुनः सुरु गर्ने प्रयासको पहिलो चरण, आउँदो हप्तादेखि प्रशिक्षण सुरु हुने

नौलो समाचार संवाददाता
२०७७ बैशाख १५, सोमबार मा प्रकाशित ४९३ पटक पढिएको
सिरी ए फुटबल पुनः सुरु गर्ने प्रयासको पहिलो चरण, आउँदो हप्तादेखि प्रशिक्षण सुरु हुने

बैशाख १५, एजेन्सी । कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको मध्ये एक इटालीमा खेलकुद गतिविधि बिस्तारै सुरु हुने भएका छन् ।

कोरोना भाइरसको महामारीका कारण रोकिएको सिरी ए फुटबलका खेलहरु पुनः सुचारु गर्ने प्रयासको पहिलो चरणको रुपमा आउँदो मे ४ देखि टिमहरु व्यक्तिगत प्रशिक्षणमा सहभागी हुन सक्ने भएका छन् ।

प्रधानमन्त्रीले कोरोना भाइरस लकडाउन खुकुलो पार्ने प्रक्रियाको पहिलो चरणको घोषणा गरेसँगै मे ४ देखि खेलाडीहरु प्रशिक्षणमा सहभागी हुन पाउने भएका हुन् । यस्तै मे १८ देखि टिम प्रशिक्षण गर्न पाइने भएको छ ।

रोकिएका सिरी ए का खेलहरु मे २७ देखि जुन २ को बिचमा सुरु हुने अपेक्षा रहेको छ । यो सिजन अगस्टको सुरुवातमा अन्त्य गर्ने तयारी रहेको छ ।

तर सिरी ए फुटबलका खेल बन्द रंगशालमै पनि कहिलेदेखि सुरु हुनेछ भन्ने औपचारिक घोषणा भने अझै गरिएको छैन । इटालीमा आइतबार कोरोना भाइरसका कारण २६० जनाको ज्यान गयो । यो मार्च १४ यताकै सबैभन्दा कम हो ।

प्रतिक्रिया दिनुहोस