शंखुपाटीचौर / धुलिखेल नगरपालिका वडा नम्बर १२ शंखुपाटीचौरमा नेपाली कांग्रेसको सांगठनिक गतिविधि तीव्र पारिएको छ । वडा कार्यसमिति, स्थानीय नेता, कार्यकर्ताको सक्रियतामा पछिल्लो समय पार्टी प्रवेश, कार्यकर्ता भेला, वनभोज (पिकनिक) लगायतका गतिविधिहरु सञ्चालन गरिएका छन् ।
शनिबार पनि नेकपा एमाले परित्याग गरी विभिन्न नेता, कार्यकर्ताहरु कांग्रेस प्रवेश गरेका छन् । एमालेका स्थानीय नेता रविन्द्र अधिकारी, आशिष सापकोटा, दीपकजंग थापा, अजय तामाङ लगायतले नेपाली कांग्रेसको सदस्यता लिएका हुन् ।
नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा, उपसभापति रमेश हुमागाई, प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सभापति दिनेश लामा, धुलिखेल नगर सभापति बिदुरबहादुर बस्नेत, धुलिखेल वडा नं १२ का सभापति हिरा सिं वाइबा लगायतले पार्टीमा स्वागत गरेका थिए । नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि धनकुमारी नगरकोटी, माइला तामाङ, मनिकराज तामाङ पुरानै घर नेपाली कांग्रेस फर्किएका छन् ।
शंखुपाटीचौरका पूर्व सभापति नीरबहादुर तामाङलाई प्रतिनिधिसभा क्षेत्र नम्बर १ को आमन्त्रित सदस्य मनोनित गरिएको पत्र सोही कार्यक्रममा हस्तान्तरण गरियो । राजकुमार थापालाई धुलिखेल नगर कार्यसमितिको सदस्य मनोनित गरिएको छ ।
जिल्ला सभापति समेत रहेका प्रदेश सभाका सदस्य, पूर्वमन्त्री तीर्थ लामाले शंखुपाटीचौरमा दुई–चार महिनाको अन्तरालमा भएका कार्यक्रमले पार्टी संगठनलाई मजबूद, बलियो र संगठित बनाउने भन्दै यसमा खटिएका नेता, कार्यकर्तालाई आभार प्रकट गरे । पार्टीमा फर्किएकालाई निशंकोच काम गर्न अनुरोध गर्दै उनले नवप्रवेशीलाई पनि उचित जिम्मेवारी दिने प्रतिबद्धता जनाए ।
अप्ठ्यारोमा परेकाहरूलाई सहयोग गर्ने उद्देश्यले सुरु गरिएको ‘सुख दुखमा धुलिखेल कांग्रेस’को अभियानको प्रशंसा गर्दै उनले जिल्लाका १३५ वटै वडामा सो अभियान लैजानुपर्ने बताए । आफू मन्त्री हुँदा निर्माण तयारी गरिएको ‘काभ्रेभञ्ज्याङदेखि सुडीखोला करिडोर’को काम रोकिएकोे भन्दै आगामी आर्थिक वर्षमा सो योजनासहित शंखुपाटीचौर क्षेत्रका अन्य योजनासमेत प्राथमिकताका साथ समावेश गर्ने प्रतिबद्धता जनाए ।
नेपाली कांग्रेस काभ्रेका उपसभापति रमेश प्रसाद हुमागाईंले कांग्रेसमार्फत आएको बजेटमा अन्य दलले हालीमुहाली गरिरहेको तर्क गर्दै संघ र प्रदेश सरकार मार्फत विकास अघि बढाउने बताए ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सभापति दिनेश लामाले कांग्रेस ‘जे बोल्छ त्यही गर्छ’ भन्दै दिउँसो जनवादी विवाह गरेर बेलुका रिसोर्टमा ‘लड्ने’ चरित्र भएको पार्टी नभएको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सहसचिव रविन्द्र सिग्देल, प्रवक्ता सन्तमान तामाङ, महासमिति सदस्य सार्कीमान बल, जिल्ला सदस्य एवं धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगम, धुलिखेल नगर कार्यसमितिका सभापति बिदुरबहादुर बस्नेत, वडा सभापति हिरा सिं वाइबा, नेता माधव थापा, अनुप लामिछाने, नेपाल महिला संघका वडा सभापति दुर्गादेवी सत्याल लगायतले शंखुपाटीचौरमा कांग्रेसको संगठन मजबुत भएपनि चुनावमा परिणाम निकाल्न नसकेको तर्क गर्दै आगामी दिनमा एक ढिक्का भएर अघि बढ्नुपर्ने तर्क गरेका थिए।
शंखुपाटीचौरको संगठन निर्माणमा विगतमा योगदान गरेका पिप्लेका हिराकाजी तामाङ, रामप्रसाद सापकोटा, काजीबहादुर भुजेल, रामबहादुर तामाङ, कान्छीमाया तामाङलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस