धुलिखेल / धुलिखेल अस्पताल र युएनएफपीएको सहकार्यमा मेनोपज (रजनोवृती) क्लिनिक शुभारम्भ गरिएको छ ।
रजनोवृति अवधीको जानकारी नहुँदा हुन सक्ने स्वास्थ्य जटिलताबारे जानकारी र उपचार गर्ने उद्धेश्यले क्लिनिक शुरुवात गरिएको अस्पतालले जनाएको छ ।
चिकित्सकीय भाषामा, रजनोवृति (मेनोपज) हुनु भनेको सबै प्रकारका प्रजनन् क्रियाशीलता अवरुद्ध हुनु अर्थात् गर्भधारण गर्ने सम्भावना सधैंका लागि समाप्त हुनु हो । चिकित्सकका अनुसार, नेपालमा अधिकांश महिलामा ४५ देखि ५२ वर्ष उमेरको बीचदेखि महिनावारी बन्द हुन्छ ।
महिनावारी बन्द हुने बेलामा महिनावारी अनियमित हुने, आत्तिने, डिप्रेसन, थकाइ, ढुकढुकी बढ्ने, जोर्नीमा पीडा, बढी गर्मी अनुभव हुने, बेचैनी, पिसाब फेर्न कठिनाइ, हाड खिइनु, योनि सुक्खा हुने जस्ता लक्षण देखिने चिकित्सकहरु बताउँछन् ।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रामकण्ठ माकजुले क्लिनिकले महिला स्वास्थ्यको क्षेत्रमा धेरै काम गर्ने बताए ।
युएनएफपीएका कन्ट्री रेप्रेजेन्टेटिभ योङ्ग हंगले महिलाका लागि क्लिनिक उपयोगी हुने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. आभा श्रेष्ठ, डा. अञ्जना डंगोल, डा. सुमनराज ताम्राकार लगायतले क्लिनिकले दिने सेवा र यसको उपादयेताबारे चर्चा गरे ।
प्रतिक्रिया दिनुहोस