बनेपा । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ मा रहेको डेडीथुम्का माध्यमिक विद्यालयमा रहेको पूर्व विद्यार्थीले शिक्षा सम्मेलन गर्ने भएका छन् ।
डेडीथुम्का पूर्वविद्यार्थी शिक्षा सम्मेलन मूल समारोह समितिले बनेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार, जेठ १५ गते नगरपालिकाको हलमा सम्मेलन आयोजना गरिएको छ ।
प्रथम व्याचदेखि हालसम्म तथा भविष्यमा समेत एसईईमा सामेल हुने विद्यार्थीहरुको ज्ञान, सीप र क्षमतालाई एकीकृत गरी डेडीथुम्का र नगरको समग्र विकास प्रकृयामा योगदान पुर्याउन साझा थलोको रुपमा विकास गर्ने, नगरपालिकालाई शैक्षिक सुधारका लागि विशिष्ट सुझाव तथा सिफारिसहरु उपलव्ध गराउने, पूर्वविद्यार्थीहरुको विशिष्ठ क्षमताको पहिचान गरी नगरको विकास प्रकृयामा नवीनतम कार्यक्रम संचालन गर्न योगदान पुर्याउने उद्धेश्यले सम्मेलन आयोजना गरिएको मूल समारोह समितिका संयोजक कश्यपप्रसाद पौडेलले जानकारी दिए ।
पहिलोपटक २०३८ सालदेखि प्रवेशिका परिक्षा (एसएलसी) मा सामेल हुँदै आएको विद्यालयबाट हालसम्म करिब ४ हजार ५ सय विद्यार्थीले एसएलसी वा एसइई दिइसकेका छन् । शिक्षा, राजनीति, स्वास्थ्य, संचार, समाजसेवा, उद्योगलगायत विभिन्न क्षेत्रमा रहेका पूर्वविद्यार्थीहरुलाई पुनर्मिलन गराउने र डेडीथुम्काका साथै समग्र नगरपालिकाको शैक्षिक गुणस्तरलाई कसरी सुधार गर्न सकिन्छ भन्नेबारे छलफलका लागि सम्मेलन गर्न लागिएको डेडीथुम्का फाउण्डेशनका अध्यक्ष टोमप्रसाद सापकोटाले जानकारी दिए ।
आयोजकका तर्फबाट गोकूल गौतमले आफू पढेको विद्यालय र पालिकाको विकासको लागि कार्यक्रम आयोजना गरिएको बताए ।
नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बिनोदकुमार न्यौपानेले शिक्षा क्षेत्रको विकासको लागि सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस