धुलिखेल / नेपाल प्रेस युनियन बाग्मती प्रदेश समितिले धुलिखेलमा तालिम र प्रशिक्षण चलाएको छ ।
३४ औं स्थापना दिवसको अवसरमा युनियन बाग्मती प्रदेश कार्यसमितिले पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका एवं संस्थागत क्षमता अभिवृद्धि तथा सम्मान कार्यक्रम गरेको हो ।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा, वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, महासचिव रामप्रसाद दाहाल, डा. भूमि चापागाई, उमेश श्रेष्ठ, नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेल लगायतले प्रशिक्षण दिएका थिए । कार्यक्रममा बाग्मती प्रदेशका १० जिल्लाका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, बाग्मती प्रदेश समिति र युनियनको प्रतिनिधित्व गर्ने पत्रकार महासंघका जिल्ला अध्यक्षको सहभागिता थियो ।
तालिम तथा प्रशिक्षण कार्यक्रम पूर्वमन्त्री समेत रहेका कांग्रेस केन्द्रीय सदस्य मीनेन्द्र रिजालले उद्धघाटन गरेका थिए । उनले आर्टिफिसियल इन्टिलिजेन्स (एआइ) का कारण पत्रकारिता क्षेत्रलाई चुनौती र जोखिम देखिएको भन्दै जुनसुकै पेशा, व्यवसायमा संकट आउँदा पनि संकट नआउने गरी पत्रकारहरुले क्षमता अभिवृद्धि गर्नुपर्ने बताए ।
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले आगामी आर्थिक बर्षको बजेट पत्रकारिता र प्रेस भन्ने शव्द नपरेको भन्दै पत्रकारहरु आन्दोलित हुनुपर्ने अवस्था बन्न सक्ने बताए ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले आफूलाई परिमार्जन गर्दै गए पत्रकारिता कहिले पनि संकटमा नपर्ने बताए ।
नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, नेपाल प्रेस युनियनका पूर्व उपाध्यक्ष इश्वरी ओझा, बागमती प्रदेश अध्यक्ष युवराज पुरी, उपाध्यक्ष गोमा थापा, काभ्रे शाखा अध्यक्ष नगेन्द्र अधिकारी लगायतले प्रविधीको बदलिदो युगमा सञ्चार क्षेत्रलाई पनि परिमार्जन गर्दै लैजानुपर्ने बताए ।
कार्यक्रममा नेपाल प्रेस युनियनका तर्फबाट नेपाल पत्रकार महासंघमा निर्वाचित प्रदेश पदाधिकारी र जिल्ला अध्यक्षहरुलाइ सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस