बैशाख ३ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

नौलो समाचार संवाददाता
२०७६ चैत्र २४, सोमबार मा प्रकाशित १००९ पटक पढिएको
बैशाख ३ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

चैत २४, काठमाडौँ ।  सरकारले लकडाउन ८ दिन थप गरेको छ । आज (सोमबार) अपराह्न सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

लकडाउनको अवधि दोस्रो पटक थपिएको हो । कोरोना भाइरस (कोभिड-१९)को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते बिहान ६ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो ।

त्यो अवधि पूरा नहुँदै २५ गतेसम्म थपियो । तर, यो अवधिका कोरोना संक्रमण स्थानीय स्तरमा भेटिएपछि सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत अवतजावतमा कडाइ गरेको थियो ।

साथै, कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको हिजो (आइतबार) बसेको बैठकले लकडाउनको अवधि थप गर्न सिफारिस गरेको थियो ।

आज बसेको समितिको बैठकले यो निर्णय गरेको हो।

संक्रमितहरूको संख्या थपिइँदै जाने र विश्वका विकसित मुलुकहरूमा अवस्था भयावह हुन थालेपछि सर्वसाधारणले पनि लकडाउन अवधि लम्ब्याउनुपर्ने बताइरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस