धुलिखेल / लाहाछाप मिडिया प्रा.लि.ले आफ्नो स्थापनाको चौथो वार्षिकोत्सवमा समाज, उद्यमशीलता, पत्रकारिता र सार्वजनिक सेवाका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै विभिन्न व्यक्तित्व तथा संस्थालाई सम्मान गरेको छ ।
हिमालय दृश्य रिसोर्टमा आयोजित विशेष समारोहमा उनीहरुलाई सम्मान गरिएको हो ।
समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउने समाजसेवी कल्पना क्षेत्री, मेनुका थापा, साहसिक राइडर मिङ्मा लामा, सञ्चारकर्मी रमिला गौतम, डली शाह, व्यवसायी डिकिला शेर्पा लामा, र यमुना श्रेष्ठलाई ’विशेष सम्मान’ प्रदान गरियो ।
जिल्लामा सक्रिय महिला उद्यमीहरू—सुनैना श्रेष्ठ (धुलिखेल), पेमा लामा र चुना बास्तोला (बनेपा), श्रेयश्री बन्जारा र रीता कर्माचार्य (पनौती), पञ्चुमाया तामाङ (नमोबुद्ध), दिक्षा पौडेल (मण्डनदेउपुर), लक्ष्मी खरेल (भुम्लु), कविता लामा (तेमाल), लक्ष्मी वाइबा (रोशी), शर्मिला श्रेष्ठ (बेथानचोक), दीपा स्याङतान (खानीखोला), तीर्थमाया वाइबा (महाभारत), रिता सिग्देल (पाँचखाल) र लक्ष्मी मुडभरी (चौंरीदेउराली) लाई ‘महिला उद्यमी प्रोत्साहन सम्मान’ बाट सम्मानित गरिएको थियो ।
वार्षिकोत्सवका अवसरमा संस्थापक जितेन्द्र कुमार थापालाई ‘संस्थापक सम्मान’ प्रदान गरिएको छ । संस्थागत रूपमा नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका, जनस्वास्थ्य कार्यालय काभ्रे, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखा र काभ्रे सेवा समाजलाई सम्मान गरिएको थियो । नेपाली कला क्षेत्रका लोकप्रिय एवं वरिष्ठ कलाकार हरिवंश आचार्यले सम्मान प्रदान गरेका थिए ।
आचार्यले सकारात्मक कुराहरुलाई प्राथमिकता दिँदै जिम्मेवार पत्रकारिता गर्न सबैमा अनुरोध गरे । सञ्चार क्षेत्रले ‘मन परेको राक्षसलाई भगवान र मन नपरेको भगवानलाई राक्षस’ बनाउन सक्ने भन्दै निष्पक्ष पत्रकारिता गर्नुपर्ने बताए ।
बाग्मती प्रदेशका पूर्वमन्त्री समेत रहेका प्रदेश सभा सदस्य तीर्थ लामाले पत्रकारितामार्फत जिल्लाको समृद्धीमा भूमिका खेल्न अनुरोध गर्दै नजिक वा टाढा भएकै आधारमा कसैको पक्ष वा विपक्षमा पत्रकारिता गर्न नहुने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेपलाञ्चोकका सभापति प्रविण ढकाल, नेकपा एमालेका अध्यक्ष राजन भुर्तेल, नेपाली कांग्रेस सचिव गुणराज मुक्तान, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, महिला उद्यमी महासंघका उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ लगायतले सत्य, जिम्मेवार र उत्तरदायी पत्रकारिताको यात्रालाई अझ सशक्त रूपमा अघि बढ्न शुभकामना व्यक्त गरे ।
प्रधानसम्पादक एवं वरिष्ठ पत्रकार इश्वरी ओझाले पत्रकारिताको चौथो पुस्ताको रुपमा रहेको अनलाइन मिडियामार्फत सञ्चारकर्मका साथै जिल्लाको समृद्धीमा योगदान र खबरदारी गर्ने बताए ।
लाहाछाप मिडिया प्रा.लि. का प्रबन्ध सञ्चालक बद्रिराज तिमल्सिनाले काभ्रेपलाञ्चोक जिल्लाको समृद्धीमा महिला उद्यमीले खेलेको योगदानको कदर स्वरुप सम्मान गरिएको बताए । उनले काभ्रेली सञ्चार क्षेत्रमा विभिन्न नयाँ प्रयोग गर्र्दै लाहाछाप शसक्त रुपमा प्रस्तुत हुने बताए ।
कार्यक्रममा धुलिखेलका कार्यवाहक प्रमुख निराजन जंगम, बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहाल, बेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनासहितका जनप्रतिनिधी, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपानेससहित विभिन्न पेशागत संघसंगठनका प्रमुख, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधी एवं जिल्लामा कृयाशिल सञ्चारकर्मीको उपस्थिती थियो ।
कार्यक्रममा लाहाछाप मिडियाले प्रारम्भ गर्न लागेको नयाँ पोड्कास्टको प्रोमो सार्वजनिक गरियो ।





प्रतिक्रिया दिनुहोस