किर्डाकको सहयोगमा तयार भयो विन्ध्यवासिनी माध्यमिक विद्यालयमा चार कोठे भवन

स्मार्ट बोर्ड र सिकाई सामाग्रीका लागि थप २९ लाख
नौलो समाचार संवाददाता
२०८३ भाद्र ७, आईतबार मा प्रकाशित ११६ पटक पढिएको

किर्डाकको सहयोगमा तयार भयो विन्ध्यवासिनी माध्यमिक विद्यालयमा चार कोठे भवन

रजवास / रोशी गाउँपालिका वडा नं. ९ स्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा २ तले ४ कोठे विद्यालय भवन तयार भएको छ ।

कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) मार्फत चोरोग उसान फर चिल्ड्रेन कोरियाको सहयोगमा ६७ लाख १९ हजारको लागतमा विद्यालय भवन निर्माण भएको हो । गुणस्तरीय सिकाई वातावरणका लागि पूर्वाधार तथा क्षमता सुदृढिकण परियोजनाअन्तर्गत विद्यालयमा भौतिक तथा प्रविधियुक्त पूर्वाधारहरू थप गरिएका छन् । २९ लाख बराबरका स्मार्ट बोर्ड र शिक्षण सिकाई सामाग्री विद्यालयलाई उपलव्ध गराइएको छ ।

संस्थाका कार्यक्रम निर्देशक गौतमराज अधिकारीका अनुसार, परियोजनाअन्तर्गत विद्यालयमा २ तल्ले ४ कोठे नयाँ भवन निर्माण गर्नुका साथै बालमैत्री कक्षाकोठा र बसाइ व्यवस्थापन गरिएको छ । यसैगरी, दुई वटा शौचालयलाई मर्मत–सम्भार गरी बालमैत्री तथा अपाङ्गमैत्री बनाइएको छ । आधुनिक प्रविधिसँग विद्यार्थीहरूलाई जोड्नका लागि ४ वटा स्मार्ट बोर्ड र २२ वटा ट्याब्लेट उपलब्ध गराउनुका साथै विविध सिकाइ सामग्री, खेलकुदका सामान र बालकेन्द्रित, डिजिटल शिक्षण–सिकाइ तालिमको समेत व्यवस्था गरिएको छ । वातावरण संरक्षणतर्फ ‘ग्रिन एण्ड क्लिन स्कुल’ अभियान सञ्चालन गर्दै वृक्षारोपण र सन्देशमूलक भित्तेलेखनका कार्यहरू सम्पन्न भएका छन् । शिक्षकहरुलाई बाल केन्द्रित शैक्षिक सामाग्री निर्माण गर्न तालिम समेत दिइएको उनले जानकारी दिए ।

किर्डाकका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले २२ बर्षदेखि सामाजिक क्षेत्रमा लागेको अनुभव सुनाउँदै धुलोरहित कक्षाकोठा अभियान अन्तर्गत ३ हजार भन्दा बढी कक्षाकोठा निर्माण गरिएको बताए । स्मार्टबोर्डसहितको प्रविधीमैत्री सिकाई सामग्री र पूर्वाधार निर्माणसँगै अध्यापन र सिकाइ क्रियाकलाप अझ सहज, प्रभावकारी र नियमित हुने अपेक्षा गरे ।

कक्षा १ मा अध्यापनरत शिक्षक सविता थापा मगरले डिजिटल सामाग्रीले सिकाईमा सहज भएको बताइन् । कक्षा ३ का शिक्षक प्रेममाया तुम्सिङ मगरले शैक्षिक सामाग्री देखाउँदै पढाउन पाउँदा सहज भएको तर्क गर्दै विद्यार्थीहरु पनि विद्यालयमा नियमित हुने विश्वास व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीप्रसाद रेग्मी र प्रधानााध्यापक रोशन बोहराले सहयोग प्रति आभार प्रकट गर्दै बालमैत्री सिकाई र भौतिक पूर्वाधारका हिसाबले पनि विद्यालय नमूना हुने विश्वास व्यक्त गरे ।

निर्माण व्यवसायी गणेश मोक्तानले समयमा नै सम्पन्न गरेर हस्तान्तरण गर्न पाएकोमा खुशी व्यक्त गर्दै नाफा भन्दा सामाजिक उत्तरदायित्व हेरेर काम गरेको बताए ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बाढी–पहिरोपछिको कठिन परिस्थितिमा प्राप्त सहयोगले विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्न ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे । शिक्षा क्षेत्रमा रोशी गाउँपालिकाले केही नयाँ अभ्यास गर्न खोजेको जानकारी दिँदै स्थानीय शिक्षा ऐन र स्थानीय शिक्षा योजना समेत निर्माण भइसकोको बताए ।






प्रतिक्रिया दिनुहोस