मण्डनडेउपुर / फ्रान्सको प्रतिष्ठित कान्स फिल्म फेस्टिभल २०२६ मा ऐतिहासिक सफलता हासिल गरेको नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ (Elephants in the Fog) का निर्माता अनुप पौडेल गृहनगरमा सम्मानित भएका छन् ।
कान्सको ‘अनसर्टेन रिगार्ड’ (Uncertain Regard) विधामा ‘ज्युरी प्राइज’ (Jury Prize) जितेर नेपाली सिनेमा इतिहासमै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय उपलब्धि दिलाएको भन्दै उनको गृह नगर मण्डनदेउपुर नगरपालिकाले सम्मान गरेको हो । नगर प्रमुख टोकबहादुर वाइवा, उपप्रमुख विष्णुमनी नेपाल, प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल, समाजसेवी अच्युतप्रसाद पौडेल लगायतले सम्मान गरेका थिए ।
अनुप पौडेल नेपालका एक प्रख्यात अन्तर्राष्ट्रिय स्तरका स्वतन्त्र चलचित्र निर्माता (फिल्म प्रोड्युसर) हुन्। उनले निर्माण गरेका चलचित्रहरूले कान्स, भेनिस र बुसान जस्ता विश्वकै प्रतिष्ठित चलचित्र महोत्सवहरूमा नेपालको प्रतिनिधित्व गरिसकेका छन्।हालै सन् २०२६ मा उनले निर्माण गरेको र अविनाश विक्रम शाहद्वारा निर्देशित सर्ट फिल्म “एलिफेन्ट्स इन द फग” (Elephants in the Fog) ले प्रसिद्ध कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ (Un Certain Regard) विधामा ज्युरी प्राइज (Jury Prize) जितेर नेपाली सिनेमा इतिहासमा ठूलो उपलब्धि हासिल गरेको थियो ।

काठमाडौंको ‘अस्कर कलेज अफ फिल्म स्टडिज’ बाट चलचित्र सम्बन्धी स्नातक गरेका अनुपले दक्षिण कोरियाको प्रतिष्ठित ‘बुसान एशियन फिल्म स्कुल’ बाट फिल्म प्रोड्युसिङ कोर्स पूरा गरेका छन् । ग्लोबल मिडिया मेकर्स, ला फेब्रिक सिनेमा, र पप अप फिल्म रेजिडेन्सी जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म मार्केट र वर्कशपहरुमा सहभागी भइसकेका उनले अविनाश विक्रम शाहकै निर्देशनमा पौडेलले निर्माण गरेको सर्ट फिल्मले सन् २०२२ को कान्स फिल्म फेस्टिभलमा ‘विशेष उल्लेख’ (Special Mention) अवार्ड जितेको थियो। एलिफेन्ट्स इन द फगले सन् २०२६ को कान्स फिल्म फेस्टिभलमा ७ मिनेट लामो ‘स्ट्यान्डिङ ओभेसन’ पाउनुका साथै यसले प्रतिष्ठित ज्युरी अवार्ड जितेको थियो । उनको सर्ट फिल्म डेमोक्रेसी इज ब्ल्याकलाई सन् २०१० मा अमेरिकी तत्कालीन विदेशमन्त्री हिलारी क्लिन्टनद्वारा ‘डेमोक्रेसी भिडियो च्यालेन्ज प्राइज’ प्रदान गरिएको थियो। उनले माई सेयर अफ स्काई (My Share of Sky), गुडबाई सिस्टर्स (Goodbye Sisters), ज्याकी: आइ एम २१ (लाइन प्रोड्युसर) र इन्टु मिन्टु लन्डनमा (लाइन प्रोड्युसर) जस्ता विभिन्न फिल्महरूमा काम गरिसकेका छन्।
कार्यक्रममा विश्व कम्पो च्यामपियनसिपमा २ कास्य र २ रजत पदक प्राप्त गर्ने खेलाडी अन्जना शाही, TVS एयर रेश च्याम्पियन २०२६ मा स्वर्णपदक विजेता दिलिप दनुवार, प्रथम दक्षिण एसियालि खेल २०२३ मा रजत पदक विजेता श्रीजल श्रेष्ठ, सुटिङ खेल एयरराईफल विद्यामा कास्य पदक विजेता खेलाडी सुस्मीता नेपाल, राष्ट्रिय खेलकुद २०७९ मा वक्सीङ ८६ केजिमा स्वर्ण पदक विजेता र एशियालि गेममा सहभागी रविन नेपाललाई पनि प्रतिभा सम्मान प्रदान गरिएको थियो ।

नगर प्रमुख टोकबहादुर वाइवा, उपप्रमुख विष्णुमनी नेपाल, समाजसेवी अच्युतप्रसाद पौडेल, प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल लगायतले अनुप पौडेल लगायतका प्रतिभाले नगर, जिल्ला मात्र नभई राष्ट्रकै इज्जत बढाएको बताए ।





प्रतिक्रिया दिनुहोस