रोशी गाउँपालिकामा ‘हाइ-क्यास’ परियोजना: इसिमोड, सिप्रेड र पालिकाबीच त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर

नौलो समाचार संवाददाता
२०८३ श्रावण २७, बुधबार मा प्रकाशित ८ पटक पढिएको

रोशी गाउँपालिकामा ‘हाइ-क्यास’ परियोजना: इसिमोड, सिप्रेड र पालिकाबीच त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर

ललितपुर / हिन्दू कुश हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा स्थानीय समुदायको उत्थानशीलता अभिवृद्धिका लागि काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकामा ‘इन्टिग्रेटेड क्लाइमेट एडप्टेशन सोलुसन्स फर द हिन्दू कुश हिमालय’ (हाइ-क्यास ) परियोजना सञ्चालन हुने भएको छ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड ) मा आयोजित एक कार्यक्रमका बीच रोशी गाउँपालिका, इसिमोड र वातावरणीय तथा कृषि नीति अनुसन्धान, विस्तार तथा विकास केन्द्र (सिप्रेड ) बीच परियोजना सञ्चालनसम्बन्धी आशय-पत्र मा हस्ताक्षर भई त्रिपक्षीय सम्झौता भएको हो। सम्झौतापत्रमा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, इसिमोडका महानिर्देशक पेमा ग्याम्चो र सिप्रेडका कार्यकारी निर्देशक जय मुकुन्द खनालले हस्ताक्षर गरेका छन् ।

ग्लोवल अफेयर्स क्यानडा को सहयोगमा सञ्चालित यो बहु-देशीय परियोजना नेपालमा मार्च २०२६ देखि सुरु भएको हो। नेपालमा सिप्रेडमार्फत काभ्रेको रोशी गाउँपालिका र धनकुटा जिल्लाको धनकुटा नगरपालिकामा यो परियोजना कार्यान्वयन भइरहेको छ ।

 

परियोजनाले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण प्रवर्द्धन गर्न लैङ्गिक उत्तरदायी, समावेशी र प्रकृतिमैत्री अनुकूलनका उपायमार्फत जोखिममा रहेका समुदाय र महिलाहरूको उत्थानको लागि काम गर्नेछ । परियोजना अन्तर्गत मुहान/जलाधार संरक्षण तथा व्यवस्थापनमा खानेपानी तथा सिँचाइका स्रोत संरक्षणका लागि मुहान र जलाधार क्षेत्रको वैज्ञानिक व्यवस्थापन गरिनेछ । स्वच्छ र नवीकरणीय ऊर्जाका प्रविधि प्रयोगलाई प्रवर्द्धन गर्दै रैथाने बाली तथा कृषि जैविक विविधताको संरक्षण र प्रवर्द्धनका काम हुनेछन् । आदिवासी तथा स्थानीय समुदायको सहभागिता, स्थानीय क्षमता अभिवृद्धि र दिगो जीविकोपार्जनमा परियोजनाले जोड दिएको छ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले परियोजना सञ्चालनका लागि स्थानीय तहलाई छनोट गरेकोमा इसिमोड र सिप्रेडप्रति आभार व्यक्त गर्दै स्थानीय जीवनयापन, वातावरणीय प्रभावका लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले परियोजनाले प्रभावकारी नतिजा दिने विश्वास व्यक्त गर्दै रचनात्मक कामका लागि पालिका सधैं साथमा नै रहने बताए ।

इसिमोडका महानिर्देशक पेमा ग्याम्चोले त्रिपक्षीय समझदारीले परियोजना कार्यान्वयनमा संलग्न निकायहरूबीच सहकार्य र समन्वयलाई संस्थागत एवं औपचारिक बनाउने विश्वास व्यक्त गरे । जलवायु परिवर्तनको जोखिममा रहेका हिमाली तथा पहाडी क्षेत्रका समुदायलाई उत्थानशील बनाउन स्थानीय सरकारसँगको सहकार्य अपरिहार्य रहेको बताए ।

सिप्रेडका कार्यकारी निर्देशक जय मुकुन्द खनालले परियोजनाको लागि संस्थाले प्राविधिक सहयोग गर्ने भन्दै कृषि जैविक विविधता संरक्षणका लागि उपयोगी हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा हाइ-क्यास परियोजनाकी वरिष्ठ परियोजना संयोजक जेसिका फुलवुड थोमसले परियोजनाका लक्ष्य, रणनीति र सोबाट हासिल हुने प्रतिफलबारे जानकारी प्रस्तुत गरिन् ।

 






प्रतिक्रिया दिनुहोस