बनेपा/ काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं. ९, रजबासस्थित मङ्गलभूमि बुद्ध विहारका लागि भगवान् बुद्धको ५ फुट ६ इन्च उचाइ भएको प्रतिमा (मूर्ति) हस्तान्तरण गरिएको छ।
काठमाडौँ महानगरपालिका वडा नं. ६, बौद्ध महाङ्काल निवासी रमेश बज्राचार्य, श्रीमती शकुन्तला बज्राचार्य तथा उहाँका परिवारजनले १ थान बुद्ध प्रतिमा दान गरेका हुन् ।
नेपालका आठौँ संघ नायक एवम् बोधिचर्या विहार बनेपाका विहार प्रमुख बोधिसेन महास्थवीरले उक्त प्रतिमा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको उपस्थितीमा मङ्गलभूमि बुद्ध विहार व्यवस्थापन समितिका अध्यक्ष सन्तबहादुर राना मगर र विहार प्रमुख साधुराम राना मगर लगायतलाई हस्तान्तरण गरेका हुन् ।

मङ्गलभूमि बुद्ध विहार प्रमुख साधुराम राना मगरले २०६८ साल देखि मगर जातिमा बौद्ध धर्मको प्रवेश भएको जानकारी दिँदै २०७८ सालमा बिहार निर्माण गरिएको बताए । तत्कालीन मंगलटार गाविसबाट ४५ हजार विनियोजन भएर सुरु भएको बिहार निर्माणको लागि रोशी गाउँपालिकाबाट ३ आर्थिक वर्षमा १८ लाख विनियोजन भएको छ । बिहारमा हाल बनेपास्थित ध्यानकुटी बिहारबाट प्राप्त बुद्ध प्रतिमा राखिएको छ ।
दानी रमेश बज्राचार्यले रजवास पुग्दा त्यहाँको बिहारमा सानो प्रतिमा देखेर अग्रजहरूको स्मृतिमा दान गरेको बताए ।
रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले सहयोग प्रति आभार प्रकट गर्दै धर्ममा मन लागि रहोस् भन्ने कामना गरे ।

बोधिचर्या विहार बनेपाका विहार प्रमुख बोधिसेन महास्थवीरले सबैको मनमा दान र सद्भावना भईरहोस् भन्ने कामना गरे ।





प्रतिक्रिया दिनुहोस