नमोबुद्ध / गत २०८१ साल असोजमा परेको अविरल वर्षापछि आएको विनाशकारी बाढी र पहिरोले क्षतिग्रस्त नमोबुद्ध नगरपालिका–२ स्थित श्री जनजागृति आधारभूत विद्यालयमा लैंगिकमैत्री शौचालय निर्माण गरी रोटरी क्लब अफ काठमाडौं हाइटले विद्यालयलाई हस्तान्तरण गरेको छ।
बाढी र पहिरोले विद्यालयको शौचालय पूर्ण रूपमा क्षतिग्रस्त भएपछि विद्यार्थी तथा शिक्षकहरू सुरक्षित र व्यवस्थित सरसफाइ सुविधाबाट वञ्चित थिए। विशेषगरी छात्राहरूका लागि सुरक्षित, स्वच्छ र गोपनीय शौचालयको अभाव भएकाले गम्भीर चुनौती बनेको थियो। यही आवश्यकतालाई सम्बोधन गर्दै रोटरी क्लब अफ काठमाडौं हाइटको पहलमा छात्रा र छात्रका लागि छुट्टाछुट्टै सुविधा भएको लैंगिकमैत्री शौचालय तथा हात धुने सुविधा निर्माण गरिएको क्लवका अध्यक्ष श्रीकृष्ण धितालले जानकारी दिए। नवनिर्मित शौचालयबाट विद्यालयका ६२ विद्यार्थी—३० छात्रा र ३२ छात्र—सहित शिक्षक तथा कर्मचारीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।
शौचालय निर्माण, खानेपानी तथा स्वच्छता सुधार परियोजनामा महालक्ष्मी विकास बैंक, रोटरी डिस्ट्रिक ३२९२ को आधारभूत शिक्षा र साक्षरता समिति, रोटरी क्लब अफ ज्ञानानोक, रोटरी क्लव अफ किङ्गस्टोन, विद्यालय तथा स्थानीय समुदाय लगायतको सहयोग र सहकार्य रहेको रोटरी क्लब अफ काठमाडौं हाइटले जनाएको छ।
२०८१ साल असोजमा लगातार परेको भारी वर्षाले काभ्रेपलाञ्चोकको नमोबुद्ध क्षेत्र पनि विपद्को चपेटामा पर्दा रोटरी क्लब अफ काठमाडौं हाइट तत्काल राहत र सहयोग लिएर प्रभावित समुदायसम्म पुगेको थियो।रोटरीले प्रभावित परिवार र विद्यालयहरूलाई पानी फिल्टर, आपत्कालीन बत्ती, खाद्यान्न तथा आवश्यक सामग्री राख्ने बकेट, न्यानो कपडा, खाद्य सामग्री तथा जीविकोपार्जनमा सहयोग पुग्ने विभिन्न सामग्री उपलब्ध गराएको थियो।क्लवले विपद्को तत्कालीन पीडाबाट प्रभावित समुदायलाई पुनः सामान्य जीवनतर्फ फर्काउन राहत, पुनर्स्थापना हुँदै पुनर्निर्माणसम्मको निरन्तर सहयोगलाई प्राथमिकता दिएको थियो ।

हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जीव ढकालले विपद्का कारण ध्वस्त भएको शौचालय पुनर्निर्माणमा सहयोग पुर्याउने रोटरी क्लब अफ काठमाडौं हाइट तथा सम्पूर्ण सहयोगी संस्थाहरूप्रति आभार व्यक्त गरे।अध्यक्ष ढकालले विद्यालयको विकासमा रोटरी क्लब अफ काठमाडौं हाइट तथा Engineers Without Borders–University of Florida Chapter ले विभिन्न समयमा पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै विशेषगरी रोटरी क्लब अफ काठमाडौं हाइटका अध्यक्ष रोटेरियन श्रीकृष्ण धितालप्रति धन्यवाद व्यक्त गरे। उनका अनुसार रोटरीको सहयोगबाट विद्यालयमा स्टेसनरी वितरण, न्यानो कपडा सहयोग, दिवा खाजा सहयोग तथा WASH कार्यक्रम लगायतका विभिन्न गतिविधि सञ्चालन भएका छन्।
रोटरी क्लब अफ काठमाडौं हाइटका अध्यक्ष रोटेरियन श्रीकृष्ण धितालले परियोजना सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे। उनले क्लवले आगामी दिनमा पनि स्थानीय समुदाय र विद्यालयका वास्तविक आवश्यकता पहिचान गरी शिक्षा, WASH, स्वास्थ्य, वातावरण, जीविकोपार्जन तथा सामुदायिक विकासका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने बताए ।
कार्यक्रममा रोटरी क्लब अफ काठमाडौं हाइटका तत्कालीन निवर्तमान अध्यक्ष रोटेरियन अरुण शर्मा, पूर्व अध्यक्ष रोटेरियन सचिन अवाले, नमोबुद्ध नगरपालिका–१ का वडा सदस्य रूपा प्याकुरेल, रोट्रयाक्टर अभिप्सा, रोटरी परिवारका सदस्य तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति थियो।





प्रतिक्रिया दिनुहोस