कोरोना भाइरसको उद्गम थलो चीनको वुहानमा ७६ दिनपछि लकडाउन अन्त्य

नौलो समाचार संवाददाता
२०७६ चैत्र २६, बुधबार मा प्रकाशित ४५५ पटक पढिएको
कोरोना भाइरसको उद्गम थलो चीनको वुहानमा ७६ दिनपछि लकडाउन अन्त्य

चैत २६, एजेन्सी । विश्वव्यापी महामारीको रुप लिएको नोवेल कोरोना भाइरस संक्रमणको सुरुवाति इपिसेन्टर तथा उद्गम स्थल चीनको वुहान सामान्य जनजीवनमा फर्किन थालेको छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आएसँगै वुहानमा विगत ७६ दिनदेखिको लकडाउन अन्त्य भएको छ ।

७६ दिनपछि वुहानले आफ्नो सीमा खुला गरेको छ । तर केही प्रतिबन्धहरु भने कायमै छन् । संक्रमण पुनः फैलिन सक्ने जोखिम रहेको भन्दै सरकारी अधिकारीले सावधानी अपनाउन आग्रह गरेका छन् ।

एक करोड १० लाख भन्दा बढी मानिसको बसोबास रहेको वुहानमा गएको डिसेम्बरमा पहिलोपटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

जनवरीको तेस्रो हप्तादेखि यो भाइरसको संक्रमण विश्वव्यापी रुपमा महामारीको रुप लिएर फैलिएको छ । अहिले विश्वका अधिकांश देश यसबाट प्रभावित भएका छन् ।

हुबेई प्रान्तको राजधानी वुहानका स्वस्थ बासिन्दा तथा बाहिरबाट त्यहाँ पुगेकाहरुलाई बुधबारदेखि हिँड्न दिइएको छ । बुधबारदेखि रेलवे तथा विमान सेवा सुचारु भएका छन् । यस्तै राजमार्गका प्रवेशद्वारहरु खुला गरिएका छन् ।

आज मात्रै ५५ हजार भन्दा बढी यात्रुले रेल मार्फत वुहान शहर छोड्ने अनुमान गरिएको छ।

पछिल्ला हप्तामा चीन तथा वुहानमा कोरोना भाइरसको संक्रमण तथा यसबाट हुने मृत्यु शून्य प्रायः छ।

वुहानमा कोरोना भाइरुसका कारण २५ सय भन्दा बढीको मृत्यु भयो भने ५० हजार भन्दा बढी संक्रमित भए।

प्रतिक्रिया दिनुहोस