भिडियो मार्फत प्रधानमन्त्रीको नयाँ वर्षको शुभकामना, कोरोना भाइरस महामारी अन्त्य नभएसम्म पारिश्रमिक नलिने घोषणा

नौलो समाचार संवाददाता
२०७७ बैशाख १, सोमबार मा प्रकाशित ८०८ पटक पढिएको
भिडियो मार्फत प्रधानमन्त्रीको नयाँ वर्षको शुभकामना, कोरोना भाइरस महामारी अन्त्य नभएसम्म पारिश्रमिक नलिने घोषणा

बैशाख १, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को शुभकामना दिँदै अहिले मानवजातिका लागि खतराका रुपमा रहेको कोरोना भाइरसको महामारी अन्त्य गर्ने प्रयासमा सबैको साथ र सहयोगको अपेक्षा रहेको बताएका छन् ।

भिडियो मार्फत दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महामारी नसकिँदासम्म आफूले पारिश्रमिक नदिने बताएका छन् । आफ्नो पारिश्रमिक बापतको रकम कोभिड–१९ रोकथामका लागि बनाइएको प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने घोषणा प्रधानमन्त्री ओलीले गरेका हुन् ।

खाँचो परेका बेला आफूले कम खाएर पनि अरुलाई खुवाउने परम्परा रहेकाको बताउँदै उनले भनेका छन्, ‘देशको कार्यकारी प्रमुखका हैसियतमा कोरोना भाइरसको महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छु ।’

प्रधानमन्त्री ओलीले देशको प्रगतिमा हुने उपलब्धीको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सह–भारवहन सबैले मिलेर गर्नुपर्ने बताएका छन् । देशभित्रको संकट व्यवस्थापनमा एकताबद्ध राष्ट्रिय प्रयास सर्वोपरी रहनु पर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएका छन् । विश्वमै संकट उत्पन्न गरेको कोरोना भाइरसको महामारी अन्त्यका लागि सबैको सहयोग र सहकार्य अत्यावश्यक रहेको उनले बताएका छन् ।

हेर्नुहोस् प्रधानमन्त्री केपी ओलीको शुभकामना संदेश 

 

प्रतिक्रिया दिनुहोस