मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन अझै कडा बनाउने रणनीति, लकडाउन एक साता थप्ने तयारी

नौलो समाचार संवाददाता
२०७७ बैशाख २, मंगलबार मा प्रकाशित ६४५ पटक पढिएको

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन अझै कडा बनाउने रणनीति, लकडाउन एक साता थप्ने तयारी

बैशाख २, काठमाडौं । आज विहान मन्त्रिपरिषद् बैठक बस्‍ने भएको छ। चैत ११ गतेदेखि देशमा जारी लकडाउन अर्को एकसाता लम्ब्याउने तयारीका साथ मन्त्रिपरिषद् बैठक बस्‍न लागेको हो।

कोरोना भाइरसको संक्रमण फैलन नदिन जारी लकडाउन लम्ब्याउनेबारे छलफल र निर्णय गर्न मंगलबार बिहान मन्त्रिपरिषद् बैठक बस्‍न लागेको हो। बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ।

सरकारले गरेको लकडाउन जारी रहेको अवस्थामा देशका कोरोनाका संक्रमित भेटिने क्रम बढेको छ। सोमबार मात्रै कैलाली र रौतहटमा दुई नयाँ संक्रमित भेटिएका छन्। नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १४ पुगिसकेको छ।

यस्तोमा सरकारले अन्तर्राष्ट्रिय हवाई उडान आगामी वैशाख १८ सम्मका लागि रोकिसकेको छ। आन्तरिक उडानबारे अझै केही निर्णय लिएको छैन। सरकारले थप कडाइका साथ लकडाउनलाई कम्तीमा एक साता लम्ब्याउने रणनीति लिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो (सोमबार) बिहान नयाँ वर्षका अवसरमा देशबासीलाई गरेको सम्बोधनमा पनि दुई दिनको अवधिमा हुने प्रगतिका आधारमा सरकारले नीति बनाउने बताइसकेका छन्। तर उनले सम्बोधन गरेपछि स्वास्थ्य मन्त्रालयले हिजै कोरोनाका थप संक्रमित भेटेको पुष्टि गरिसकेको छ।

र्‍यापिड टेस्टमा काठमाडौंको पेप्सीकोलामा नै तीनजना कोरोनामा संक्रमित भेटिएका छन्। सनसिटी अपार्टमेन्टमा बस्‍दै आएका एकै परिवारका तीनजनामा कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।

छिमेकी भारतमा पनि तीव्र गतिमा कोरोना फैलिँदै गएको छ। त्यहाँ हालसम्म ९ हजार ६ सय ३५ जनालाई कोरोना संक्रमण देखिएको छ। मर्नेको संख्या ३३१ पुगिसकेको छ। भारतमा कोरोना फैलिँदै गएपछि खुला सीमाको फाइदा लिएर मानिसहरु नेपाल छिर्ने क्रम रोकिएको छैन। यस्तो अवस्थामा सरकारले लकडाउनलाई अझै कडा पार्ने रणनीति लिएको हो।


प्रतिक्रिया दिनुहोस