कोरोनाले अमेरिकामा २४ घण्टामा २ हजार ४०७ को मृत्यु, विश्वभर १ लाख २६ हजार ५३८ को ज्यान गयो 

नौलो समाचार संवाददाता
२०७७ बैशाख ३, बुधबार मा प्रकाशित ६८९ पटक पढिएको
कोरोनाले अमेरिकामा २४ घण्टामा २ हजार ४०७ को मृत्यु, विश्वभर १ लाख २६ हजार ५३८ को ज्यान गयो 

बैशाख ३, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाट अमेरिकामा एकै दिन २ हजार ४०७ जनाको मृत्यु भएको छ । कोरोनाका कारण अमेरिकामा २४ घण्टामा यति धेरैको ज्यान गएको यो पहिलो पटक हो ।

पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनाको ज्यान जाँदा अमेरिकमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २६ हजार ४७ पुगेको छ । पछिल्लो २४ घण्टामा फ्रान्समा ७६२, स्पेनमा ४९९, इटालीमा ६०२ तथा बेलायतमा ७७८ जनाको ज्यान गएको छ ।

यता, पछिल्लो २४ घण्टामा ७३ हजार ६८३ नयाँ संक्रमित थपिँदा अमेरिकामा मात्रै २६ हजार ९४५ संक्रमितको पहिचान भएको छ । त्यसपछि सबैभन्दा धेरै बेलायतमा ५ हजार २५२ कोरोना संक्रमित भेटिएका छन् ।

नेपालमा अहिलेसम्म १६ जनामा संक्रमण देखिएको छ । जसमध्ये एकजना निको भइसकेका छन् । अन्यको सामान्य अवस्थामा उपचार भइरहेको छ ।

६ हजार २९९ जनाको परीक्षण गरिसकिएको छ । आइसोलेसनमा ९९ जना रहेका छन् ।

विश्वभर १ लाख २६ हजार ५३८ जनाको मृत्युु 

कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या १ लाख २६ नाघेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाका कारण आज बिहानसम्म १ लाख २६ हजार ५३८ जनाको ज्यान गइसकेको छ ।

१३ लाख ९२ हजार १०५ कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ५१ हजार ५९५ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

अहिलेसम्म ४ लाख ७८ हजार ३२६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस