वैशाख १५ पछि लकडाउन खुकुलो बनाउने सरकारको तयारी

नौलो समाचार संवाददाता
२०७७ बैशाख ८, सोमबार मा प्रकाशित ३४६ पटक पढिएको
वैशाख १५ पछि लकडाउन खुकुलो बनाउने सरकारको तयारी

वैशाख ८, काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिम रोक्न सरकारले मुलुकमा लकडाउन घोषणा गरेको २७ औं  दिन बसेको मन्त्रिपरिषद बैठकले बैशाख १५ पछि लकडाउन खुकुलो बनाउने विषयमा छलफल भएको छ।

लामो समय लकडाउन जारी राख्दा दैनिक ज्यालामजदुरी गरेर जीवन यापन गर्ने मजदुर वर्ग समस्यमा परेको भन्दै सरकारले बैखाख १५ पछि लकडाउन खुकुलो बनाउने तयारी गरेको हो।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण नदेखिएका ठाउँमा लकडाउन खुकुलो बनाउने विषयमा गम्भीर छलफल गरेको एक मन्त्रीले जानकारी दिए। तर सरकारले सीमा नाका भने तत्काल नखुलाउने भएको छ।

भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका भारतीय नागरिकबाट नेपालमा कोरोना संक्रमण फैलिएको भन्दै सरकार तत्काली भारतसँग जोडिएका सीमानाका भने नखुलाउने भएको हो।

‘कोरोना संक्रमण नदेखिएका ठाउँमा लकडाउन खुकुलो बनाउने विषयमा आज (सोमबार) बसेको मन्त्रिपरिषद बैठकमा निकै लामो छलफल भयो,’ एक मन्त्रीले डिसी नेपालसँग भने, ‘कोरोना संक्रमण देखिएका र भारतसँग नाका जोडिएका ठाउँमा भने लकडाउनलाई कडाइसँग लागू गर्ने विषयमा छलफल भएको छ।’

हाल काठमाडौं, उदयुपर, बाग्लुङ धनगढीलगायतका स्थानमा कोरोना कोरोना संक्रमित फेला परेका छन्। विशेष गरी विदेश वा तेस्रो मुलुकबाट आएका नेपाली नागरिमा कोरोना संक्रमण देखिएको छ।

मन्त्रिपरिषद बैठकमा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुरलाई कुन कुन मन्त्रालयले कति र कसरी रोजगारी उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा पनि गम्भीर छलफल भएको थियो।

‘अहिले बेरोजगार भएका मजदुरको हकमा कुन कुन मन्त्रालयले कसरी रोजगारी सृजना गर्न सक्छन् भन्ने विषयमा छलफल भयो,’ मन्त्रिपरिषद स्रोतले भन्यो, ‘त्यस विषयमा अर्थमन्त्री डा. युवराज खतिवडालाई दुई दिनभित्र अध्ययन गरेर सुझाव दिन भनिएको छ।’

बैठकले राजधानीबाट गन्तव्यसम्म पुग्न पैदल यात्रा तय गरेका नागरिकलाई गन्तव्यसम्म पुर्याउन सहयोग गर्ने पनि निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस