गायक सपुतले गरे कोरोना कोषमा दुई लाख सहयोग

नौलो समाचार संवाददाता
२०७७ बैशाख ९, मंगलबार मा प्रकाशित ५१२ पटक पढिएको

गायक सपुतले गरे कोरोना कोषमा दुई लाख सहयोग

बैशाख ९, बागलुङ । लोकप्रीय गायक प्रकाश सपुतले कोरोना संकटका लागि घोषणा गरेको कोषमा दुई लाख १५ हजार रुपैयाँ प्रदान गरेका छन् ।

गायक सपुतले लकडाउन घोषणाको सम्मुखमा कोरोनाका कारण बढी प्रभावित हुने श्रमिक मजदुरले झेल्नुपर्ने सम्भावित कठिनाईलाई ध्यानमा राखेर प्रधानमन्त्रीका नाममा पत्र लेख्दै नेपाल पत्रकार महासंघ बागलुङलाई तत्काल सहजिकरणका लागि चेक हस्तान्तरण गरेका थिए ।

त्यसको केही दिनमै नेपाल सरकारले राहत सहयोगमा एकद्वार प्रणाली लागू गरेपछि छुट्टै राहत सहयोग गर्न नमिल्ने भएपछि नेपाल सरकारको कोरोना रोकथाम, नियन्त्रण, राहत तथा उपचार कोषमा १ लाख, गण्डकी प्रदेश सरकारको कोषमा ५० हजार, काठेखोला गाउँपालिकाको कोरोना कोषमा ३० हजार जम्मा गरिएको पत्रकार महासंघ बागलुङका सचिव राम थापाले बताए ।

यस बाहेकको बाँकी ३५ हजार रुपैयाँ पत्रकार महासंघमै कोरोना संकटमा भैपरी आउने जटिलतामा सहयोग गर्ने गरी कोषको रुपमा राखिएको छ । गायक सपुत गण्डकी प्रदेश सरकारको पर्यटन दूत समेत हुन् भने काठेखोला गाउँपालिका उनको जन्म गाउँ हो ।

कोरोनाका कारण समाज र देशले भोग्ने सम्भावित संकटमा एक कलाकारका रुपमा गर्न सक्ने सानो योगदान आफूले गरेको गायक सपुतले बताए ।


प्रतिक्रिया दिनुहोस