लकडाउन लम्बिने सरकारकाे संकेत

नौलो समाचार संवाददाता
२०७७ बैशाख १२, शुक्रबार मा प्रकाशित ५९१ पटक पढिएको
लकडाउन लम्बिने सरकारकाे संकेत

बैशाख १२, काठमाडाैं । अर्थमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले  लकडाउन खोल्ने निर्णय जोखिम नहेरी एकपक्षीय रुपमा गर्न नसकिने बताएका छन्।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले छिमेकी मुलुकहरुमा कोरोना नियन्त्रण र जोखिमको अवस्था हेरेर लकडाउन खोल्ने/नखोल्ने विषयमा निर्णय हुने बताएका हुन्।

उनले भने,‘छिमेकी मुलुकहरुमा कोरोनाको नियन्त्रणको अवस्था कस्तो छ। जोखिमको अवस्था नहेरी एकपक्षीय ढंगले निर्णय गर्ने अवस्था रहँदैन।’

सरकारले पछिल्लो पटक १५ वैशाखसम्म लकडाउन घोषणा गरेको छ। नेपालमा चैत ११ देखि लागू भएको हो। तर, नेपालमा पनि कोरोना भाइरसका संक्रमित बढिरहेको र छिमेकी भारतमा पनि नियन्त्रणमा नआइसकेकाले मुलुकमा जोखिम टरिसकेको छैन। मन्त्री खतिवडाले लकडाउन लम्बिन सक्ने  संकेत गरेका हुन्।

यद्यपि, सरकारले आधारभूत उद्योग र ठूला परियोजना शर्तसहित सञ्चालन गर्न दिने निर्णय यसअघि नै गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस