कोरोना संक्रमणबाट निको हुने १६ पुगे, पीसीआर विधिबाट १० हजारको परीक्षण

नौलो समाचार संवाददाता
२०७७ बैशाख १४, आईतबार मा प्रकाशित ३७५ पटक पढिएको
कोरोना संक्रमणबाट निको हुने १६ पुगे, पीसीआर विधिबाट १० हजारको परीक्षण

बैशाख १४, काठमाडौं । देशैभर कोरोना भाइरसको आशंकामा नमुना संकलन गरी पीसीआर विधिबाट नौ हजार नौ सय ३१ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज गरेको प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले हालसम्म देशैभर आरडीटी र पीसीआर विधिबाट ५३ हजार ६७ जनाको कोरोना भाइरसको आशंकामा नमुना संकलन गरी परीक्षण गरिएको जानकारी दिए ।

उनले कोरोना भाइरसको आशंकामा आरडीटी परीक्षण ४१ हजार ४१७ जनाको नमुना संकलन गरी परीक्षण गरिएको बताए । “देशैभर विभिन्न अस्पतालको आइसोलेसनमा आज ११० जना उपचाररत छन् । जसमा काठमाडौं उपत्यकामा ६ जना र काठमाडौ बाहिर १०४ जना छन्,” उनले भने, “सातै प्रदेशका क्वारेन्टाइनमा १७ हजार २५ जना छन् ।”

हालसम्म कोरोना भाइरसको संक्रमण ५१ जनामा देखिएको छ । १६ संक्रमित निको भएको उनले बताए । मन्त्रालयका अनुसार गत चौबीस घण्टामा एक हजार ११५ र एक हजार १३३ कल सेन्टरमा २ हजार ७१ जनाको गुनासो स्वास्थ्यकर्मीहरूले सम्बोधन गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको मोबाइल एप हाम्रो स्वास्थ्यमा रेड जोनमा गत चौबीस घण्टामा ६ जना परेका छन् भने हालसम्म जम्मा २ सय ९६ जना रेड जोनमा परेका छन् ।

झापामा कोरोना संक्रमित पुरुषको नजिक रहेका ५० जनाभन्दा बढीको परीक्षणका लागि नमुना संकलन गरिएको छ । उदयपुरमा ३ सय जनाभन्दा बढीको नमुना संकलन गरिएको समेत मन्त्रालयले जनाएको छ । यसै साता प्रदेश ५ मा नमुना संकलन गर्ने तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस