नेपालगन्ज निषेधित क्षेत्र घोषणा, तरकारी बजार अर्को निर्णय नभएसम्म बन्द

नौलो समाचार संवाददाता
२०७७ बैशाख २३, मंगलबार मा प्रकाशित १००२ पटक पढिएको
नेपालगन्ज निषेधित क्षेत्र घोषणा, तरकारी बजार अर्को निर्णय नभएसम्म बन्द

बैशाख २३, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकामा तीनदिन निषेधित क्षेत्र घोषणा गरिएको छ । सोमबार बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको थियो । अाज बिहानदेखि २५ गते रातिसम्म पूर्णरुपले उपमहानगरपालिकाभर निषेधित क्षेत्र घोषणा गरिएको छ ।

सर्वदलीय बैठकले अर्को निर्णय नभएसम्मका लागि तरकारी मण्डी बन्द गर्ने निर्णयसमेत गरेको राससले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले सुरक्षा र स्वास्थ्यकर्मी तथा स्वाब संकलन गर्ने र कन्ट्रयाक्ट ट्रेसिङका जनशक्तिबाहेक अन्यलाई आवागमनमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । आफ्नो क्षेत्र सुरक्षित गर्ने बहानामा कुनै पनि किसिमले बाटो छेक्ने र राजमार्ग रोक्ने कार्य कोहीकसैबाट गर्न नपाइने र त्यस प्रकारको कार्य गरेमा कानूनी कारवाहीसमेत गर्ने निर्णय भएको छ ।

सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने र खलल पर्ने सामग्री प्रकाशन, प्रसारण र पोष्ट गर्ने व्यक्तिको पहिचान गरी तत्काल कानूनी दायरामा ल्याउने निर्णयसमेत बैठकले गरेको छ । नेपालगञ्जमा शुक्रबार र आइतबार गरी १६ जनामा कोरोना संक्रमण देखिएपछि उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको प्रजिअ खड्काको भनाइ छ ।

छिमेकी पालिकाद्वारा उपमहानगरभित्र अाउ-जाउ निषेध

कोहलपुर–कोरोना संक्रमित भेटिएपछि उपमहानगरपालिकासँग छिमेकी पालिकाले दूरी वढाएका छन् । दुई दिनमा मानिसमा कोरोना संक्रमण देखिएपछि छिमेकी नगरपालिका र गाउँपालिकाले आवतजावतमा पूर्ण रोक लगाएका छन् ।

लकडाउन कडा बनाउनाका साथै दक्षिणतर्फ भारतको सीमा नाका, उत्तरतर्फ कोहलपुर र राप्ती सोनारी गाउँपालिका तथा पश्चिमतर्फ सीमा जोडिएको उपमहानगरपालिका क्षेत्र पूर्ण रुपमा बन्द गरिएको डुडुवा गाउँपालिकाअध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए ।

यसैगरी जानकी र खजुरा गाउँपालिकाले नेपालगञ्जतर्फका नाका बन्द गरेर केही समयका लागि नेपालगञ्ज आवतजावतमा रोक लगाएका छन् । सबै पालिकाले अत्यावश्यक कामबाहेक आवतजावत रोकिएको जनाएका छन् । नेपालगञ्जतर्फबाट आउने तरकारीलगायत खाद्य वस्तुलाई प्रवेशमा रोक लगाइएको छ ।

अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन माइकिङ गरी सूचना जारी गरिएको र नयाँ मानिस कहीँकतै फेला परेमा क्वारेन्टाइन पठाउन भनिएको स्थानीय समाजसेवी एवं पूर्वप्रहरी निरीक्षक ढाकाराम खत्रीले बताए । रासस

प्रतिक्रिया दिनुहोस