नेपाली भूभाग कब्जा गरेको भारतले सीमा क्षेत्रमा बढायो निगरानी, नेपाली आकाशमा भारतीय सेनाकाे गस्ती

नौलो समाचार संवाददाता
२०७७ बैशाख २९, सोमबार मा प्रकाशित १०५१ पटक पढिएको
नेपाली भूभाग कब्जा गरेको भारतले सीमा क्षेत्रमा बढायो निगरानी, नेपाली आकाशमा भारतीय सेनाकाे गस्ती

बैशाख  २९, काठमाडौं । नेपालमा अतिक्रमित भूमि कालापानी-लिपुलेकको मुद्दा चर्किँदा भारतले त्यस क्षेत्रमा आफ्नो उपस्थिति बढाएको छ।

अहिले भारतीय सेनाका हेलिकोप्टर नेपाली आकाशमा उडिरहेका छन्। नेपाली भूमि कालापानी कब्जा गरेर सैन्य क्याम्प खडा गरेको भारतले सैनिक हेलिकप्टरबाट त्यहाँ ओहोरदोहोर बढाएको छ।

सोमबारमात्रै चारपटक भारतीय सेनाको हेलिकोप्टरले ओहोरदोहोर गरेको दार्चुलाका पत्रकार भोजराज जोशीले बताए।

‘भारतीय सेनाको हेलिकोप्टर खेपका खेप उडिरहेका छन्। कालापानीमा समान पुर्‍याउन होला,’ सदरमुकाम खलंगाबाट फोन सम्पर्कमा आएका उनले अनुमान गरे, ‘सडक उद्घाटन भएपछि यस क्षेत्रमा चहलपहल बढेको छ। धारचुलाका एसडिएम पनि हिजो कालापानी गएको सुन्नमा आएको छ।’

भारतका रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक-मानसरोवर जोड्ने सडक उद्घाटन गरेपछि नेपालमा एकपटक फेरि कालापानी र लिपुलेक मुद्दा चर्किएको छ। सरकारले कालापानी क्षेत्र नजिकै पर्ने दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको बीओपी स्थापना गर्ने र तत्कालै सुरक्षाकर्मी पठाउने तयारी गरिरहेको छ। यहीँ बुधबार सेनाको हेलिकोप्टरमार्फत सशस्त्र प्रहरीको टोली छाङरु पठाउने सरकारी तयारी छ।

नेपालबाट सुरक्षाकर्मी पठाउने, कूटनीतिक वार्ता गर्ने तयारी भइरहँदा भारतले कालापानीमा सेनाका हेलिकोप्टरको उडानलाई तीव्र पारेको छ। यसलाई सामान्य रुपमा लिन नसकिने दार्चुलाका अर्का पत्रकार नरेन्द्र कार्कीले संकेत गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा हेलिकोप्टरको तस्विर सार्वजनिक गर्दै उनले प्रश्न गरेका छन्, ‘केही देख्नुभयो?’ जवाफमा धेरैले भारतीय सेनाको हेलिकोप्टर कालापानीतिर जाँदै गरेको र दिनमा ५ पटकसम्म उड्ने गरेको प्रतिक्रिया दिएका छन्। केहीले भारतीय हेलिकोप्टर दार्चुला सदरमुकाम खलंगामाथिको आकाशबाट पनि उड्ने गरेको भन्दै आक्रोश पोखेका छन्।

जिल्ला प्रशासन कार्यालयले पनि कालापानीतर्फ भारतीय सेनाका हेलिकोप्टर उडिरहेको पुष्टि गरेको छ। दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले दैनिक ५/६ पटक भारतीय हेलिकोप्टर कालापानीतर्फ गइरहेको बताए।

‘मेसिन, सामान ढुवानी गर्न हेलिकोप्टर रेगुलर गइरहेका छन्। सेना राखेको छ। बन्दोबस्तीका सामान लग्छ होला,‘ उनले भने।

प्रतिक्रिया दिनुहोस