भाग्ने संक्रमितलाई गोली हान्ने निर्णयबाट पछि हट्यो पर्सा प्रशासन

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २, शुक्रबार मा प्रकाशित ४६४ पटक पढिएको
भाग्ने संक्रमितलाई गोली हान्ने निर्णयबाट पछि हट्यो पर्सा प्रशासन

जेठ २, काठमाडौं । पर्साको संकट व्यवस्थापन केन्द्रले कोरोना संक्रमण देखिएर अस्पतालको आइसोलेसनमा रहेका बिरामी भाग्न खोजे आवश्यकता परे गोली समेत चलाउन सकिने भन्ने निर्णय संशोधन गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले विज्ञप्ति जारी गर्दै सो निर्णयबाट आम सर्वसाधारण एवं अन्य सरोकारवालाहरूमा अस्पष्टता सृजना भएकाले निर्णय संशोधन गरेको जानकारी दिएका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘अब उप्रान्त भर्ना भएका संक्रमित व्यक्ति भाग्न नदिन सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाउने र भाग्न खोने व्यक्तिलाई स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ मा भएको व्यवस्था बमोजिम आवश्यकता अनुसार बल प्रयोग गर्दै नियन्त्रणमा लिने।’

यसअघि, हिजाे (बिहीवार) पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन केन्द्रको बैठकमा कोरोना संक्रमण देखिएर अस्पतालको आइसोलेसनमा रहेका बिरामी भाग्न खोजे सुरक्षाकर्मीले बल प्रयोग गर्ने र आवश्यकता परे गोली समेत चलाउन सक्ने भन्ने निर्णय गरिएको थियो। सो निर्णयको सर्वत्र आलोचना भएपछि संशोधन गरिएको हो।

प्रतिक्रिया दिनुहोस