मृत्यु भएको ३० घण्टापछि बल्ल कोरोना संक्रमितको शव व्यवस्थापन

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ९, शुक्रबार मा प्रकाशित ३६८ पटक पढिएको
मृत्यु भएको ३० घण्टापछि बल्ल कोरोना संक्रमितको शव व्यवस्थापन

जेठ ९, बुटवल । उपचारको क्रममा अस्पतालमा मृत्यु भएका कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको ३० घण्टा पछि शव व्यवस्थापन गरिएको छ।

गुल्मीको मदाने गाँउपालिका ६ पुर्कोट दहका शिक्षकको शव शुक्रबार दिउँसो करीब २ बजे व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

अस्पाताल प्रशाशन, नेपाली सेना, प्रहरी र स्थानीय जनप्रतिनिधिको लामो समयसम्म चलेको छलफलपछि नेपाली सेनाको गरुण दल बुटवलले शव व्यवस्थापन गरेको हो। गरुण दल बुटवलका क्याप्टेनको नेतृत्वमा आएको टोली सुरक्षित तरिकाले शव व्यवस्थापन गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ।

कोरोना सक्रमित व्यक्तिको शव व्यवस्थापन कार्यविधि अनुसार संक्रमित व्यक्तिको शव व्यवस्थापन गरिएको जनाइएको छ। संक्रमित व्यक्तिको शव देवदह नगरपालिका १० को जंगलमा हिन्दु संस्कार अनुसार व्यवस्थापन गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए।

उनले जिल्लामा नयाँ घटना भएको तथा परिवार, अस्पतालसँग समन्वय तथा शव व्यवस्थापनका लागि समन्वय गर्नु परेकाले शव व्यवस्थापनमा ढिलाई भएको बताए।

अन्तिम संस्कारमा उनका परिवार तथा आफन्त कसैको पनि सहभागिता नभएको मृतकका भाइले जानकारी दिए। शव लगेको १ घण्टापछि मात्रै उनका भाइले शव व्यवस्थापन गर्ने विषयमा सहमति जनाएका थिए।

उपचारका लागि वैशाख ३१ गते राती ११ बजे रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पताल आइपुगेका उनको जेठ ८ बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको थियो।

जन्डीसले ग्रसित भएपछि अस्पतालको आईसियुमा भेन्टिलेटरको सहयोगमा उपचार गराइरहेका उनमा जेठ ५ गते कोरोना पोजेटिभ देखिएको थियो। कोरोना पोजेटिभ देखिएको तीन दिन पछाडि उनलाई मृत घोषणा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस