बाजुराकी दुई वर्षे बालिकाको मृत्युको कारण कोरोना नै रहेको पुष्टि, ज्यान गुमाउनेको संख्या ८

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ १८, आईतबार मा प्रकाशित ४२५ पटक पढिएको
बाजुराकी दुई वर्षे बालिकाको मृत्युको कारण कोरोना नै रहेको पुष्टि, ज्यान गुमाउनेको संख्या ८

जेठ १८, धनगढी  । बाजुराको अस्पतालमा आइसोलेशनमै रहेका बेला मृत्यु भएकी बालिकामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ । बुढिगंगा–१ की २ वर्षीया बालिकाको आज (आइतबार) बिहान मृत्यु भएको थियो ।

उनको सेती प्रादेशिक प्रयोगशालमा स्वाब संकलन गरि पठाएको थियो । आज दिउँसो आएको रिपोर्टमा उनको कोभिड–१९ का कारण मृत्यु भएको खुलेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मृतक बालिकाकी २३ वर्षीया आमालाई पनि कोरोना पुष्टि भएको छ । संक्रमित आमालाई पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको छ । बुवाको रिपोर्ट भने नेगेटिभ आएको छ । मृतक बालिका आमा र बुवालाई जेठ १५ गते आइसोलेशनमा राखिएको थियो । तीनै जनाको स्वाब धनगढी पठाइएको थियो ।

बुढिगंगा नगरपालिका १ धुरालसैनमा माविको आइसोलेशनमा राखिएकी बालिकाको अवस्था जटिल भएपछि सदरमुकाम मार्तडीमा रहेको आइसोलेशनमा जेठ १५ गते साँझ राखिएको थियो । ८ दिन अगाडि उनको परिवार भारतबाट आएका थिए ।

बालिकाको मृत्यु कोभिड–१९ कै कारण मृत्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस